क्रिसमसको उपलक्ष्यमा बागमती प्रदेश प्रमुख देवकोटाद्वारा शुभकामना
हेटाैँडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले कृश्चियन धर्मावलम्बीहरूको प्रमुख चाड क्रिसमसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको छ।
बुधबार परेको क्रिसमसको अवसरमा उहाँले शुभकामना सन्देश मार्फत शुभकामना व्यक्त गर्नु भएको हो । “बागमती प्रदेश, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण कृश्चियन धर्मावलम्बी दाजुभाई दिदी बहिनीहरूमा शुभकामना व्यक्त गर्दछु” शुभकामना सन्देशमा भनिएको छ ।
हरेक वर्ष डिसेम्बर २५ लाई ईसाई धर्मका अनुयायीहरू येशु खृस्टको जन्मदिनको रूपमा मनाइन्छ । क्रिसमसको बेला गीर्जाघरमा प्रार्थना गर्ने, घर सजावट गर्ने, उपहार आदानप्रदान गर्ने, साङ्गितिक कार्यक्रम गर्ने अनि परिवार साथीसङ्गी भेला भएर शुभकामना बाँडेर र खानपिन गरेर रमाइलो र हर्षोल्लासका साथ मनाइन्छ ।
“हाम्रो देश धर्म निरपेक्ष देश हो । सबै धर्मलाई राज्यले एकै समानले हेरेको छ, हाम्रो धार्मिक सहिष्णुता संसारमै उदाहरणका रूपमा रहेको छ, हामी एक अर्काका धार्मिक स्वतन्त्रतालाई सम्मान गर्दै सभ्य र सुन्दर समाज निर्माणको दिशामा अझै अघि बढ्नुपर्छ” उहाँले शुभकामना सन्देशमा भन्नु भएको छ ।
चाडपर्वहरूले अङ्गीकार गरेका विशेषतालाई नेपाली समाज एकतामा बाँधिएको उहाँले बताउनु भएको छ । कृसमसले नयाँ उर्जा र उमङ्ग ल्याउने अपेक्षा प्रदेश प्रमुख देवकोटाले व्यक्त गर्नु भएको छ ।