जनकपुर बाेल्ट्सले जित्यो एनपीएलको उपाधि
काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । फाईनलमा बलियो र सशक्त टोली सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि जितेको हो ।
उपाधिसँगै जनकपुरले १ करोड १० लाख रुपैयाँ नगद पाएको छ । सुदूरपश्चिमले दिएको १ सय ८५ रनको विशाल लक्ष्य जनकपुरले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।
लिग चरण र क्वालिफायरमा सुदूरपश्चिमसँग लज्जास्पद हार बेहोरेको जनकपुरले निर्णायक खेलमा उत्कृष्ट कम ब्याक गर्यो । खराब ब्याटिंगका कारण हारेको जनकपुरले फाईनलमा उत्कृष्ट ब्याटिंग गर्यो ।
उसको जितमा लाहिरु मिलान्थाले महत्वपूर्ण भूमिका खेले । उनले ८७ रनको आक्रामक पालि खेले । मिलान्थाले ४९ बलमा नौ चौका र ४ छक्का हाने । यस्तै अर्का ओपनर आशिफ शेखले १९ बलमा ३३ रन बनाए । उनले चार चौका र २ छक्का हाने । हर्ष ठकेर ३० रनमा नटआउट रहे । उनले २४ बलमा २ छक्का हाने ।
यसअघि कीर्तिपुरमा ओपनर सैफ अलि जैव र विनोद भण्डारीको शतकीय साझेदारीमा सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । जैब र भण्डारीले पहिलो विकेटका लागि ११७ रनको साझेदारी गरे । तर त्यो स्कोर पर्याप्त भएन।
सैफ ४३ बलमा ६९ र विनोद ३१ बलमा ४१ रन बनाएर आउट भए । ब्राण्डन म्याकमुलेनले १४, हरमित सिंहले १४,स्कट कुग्गेलिनले १३ रनको योगदान गरे ।
जनकपुरका मोहम्मद मोहसिन र किशोर महतोले समान ३ विकेट लिए । ललित राजवंशीले एक विकेट लिए ।