नेपालीमा मंकीपक्स संक्रमण, ‘आइसोलेसन’मा उपचार हुँदै’
काठमाडौं । नेपालमा पुनः मंकीपक्स संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।
“साउदी अरबबाट बिहीबार स्वदेश आएका निजको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो”, उनले भने, “अहिले उनको अवस्था सामान्य छ ।” निजको शुक्रराज अस्पतालमा ‘आइसोलेसन’मा राखेर उपचार भइरहेको छ ।
दुई वर्षअगाडि पनि नेपाल आएका एकजना विदेशीमा मंकीपक्स संक्रमण देखिएको थियो । उनले मंकीपक्स संक्रमण देखिएपछि सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ‘हेल्थ डेक्स’लाई सतर्कता अपनाउन सरकारले निर्देशन दिएको प्रवक्ता बुढाथोकीले बताए ।
पंकीपक्सबाट बच्ने के गर्ने ?
– संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने
– संक्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्णरुपमा जनस्वास्थ्य मापदण्डहरू पालना गर्ने
– घाउसँग प्रत्यक्ष सम्पर्क हुने जोखिम भए पन्जा लगाउने,
– नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानीटाइजरको प्रयोग गर्ने
– संक्रमित व्यक्तिका लुगा तथा सामानहरू तातो पानी साबुन र डिटर्जेन्टले धुने
– मंकीपक्सको पुष्टि भइ मरेका जनावरको सम्पर्कमा नजाने, – संक्रमितको सम्पर्कमा आएका व्यक्तिले परीक्षण गर्ने
– संक्रमितको सम्पर्कमा आएको सतह, स्थान वा कोठा डिटर्जेन्टले निसंक्रमण गर्ने
– मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने
– फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्ने कार्य गर्ने