हेटौँडा–काठमाडौँ रोपवे पुनः सञ्चालन गर्न अध्ययन गर्दै प्रदेश सरकार, चलाउन कति सम्भव ?
काठमाडौँ । बन्द भएको २५ वर्षपछि हेटौँडा–काठमाडौँ रोपवे सञ्चालनका लागि सरकारले सम्भाव्यता अध्ययन गर्ने भएको छ । सम्भाव्यता अध्ययनका लागि बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रममा समेटेको छ ।
मन्त्रालयका प्रवक्ता भूपेन्द्रकुमार यादवले पूर्व सम्भाव्यता अध्ययनका लागि ५ लाख बराबर बजेट विनियोजन गरिएको बताए । ‘पूर्व सम्भाव्यता अध्ययनका लागि वार्षिक कार्यक्रममा समेटेका छौँ । अध्ययन गर्नका लागि तयारी हुँदै छ । रोपवे सञ्चालन गर्न सकिन्छ, सकिँदैन भन्ने यस अध्ययनले थाहा हुन्छ,’ प्रवक्ता यादव भन्छन्, ‘पुनः सञ्चालन हुने रहेछ भने आगामी आर्थिक वर्षमा सञ्चालनका लागि बजेट विनियोजन गर्ने तयारी गरेका छौँ ।’ अहिले आन्तरिक रूपमा छलफल भइरहेको र छिटोभन्दा छिटो अध्ययन थालिने उनले बताए ।
यादवका अनुसार यो रोपवे सञ्चालनमा ल्याउनका लागि बागमती प्रदेश सरकारले २०७६ सालमै चासो देखाएको थियो । तर सञ्चालन गर्नका लागि बजेट अभावका कारण काम अघि बढ्न सकेको थिएन । फेरि आर्थिक वर्ष २०७८/७९ मा यो रोपवे सञ्चालन सम्भाव्यता अध्ययन गर्न १६ लाख बजेट विनियोजन गरेको थियो । बजेट विनियोजन भए पनि बजेटको स्रोत सुनिश्चितता नभएपछि काम अगाडि बढेन ।
चुनावी एजेन्डामा रोपवे
रोपवेलाई सञ्चालनमा ल्याउन राजनीतिक पार्टीहरूले आफ्नो चुनावी एजेन्डा बनाउँदै आएका छन् । २०७९ मङ्सिर ४ गते भएको प्रतिनिधि सभाको चुनावका लागि नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्रमा यो रोपवे सञ्चालन गरिने विषय समेटेको छ ।
‘बन्द रहेको हेटौँडा –काठमाडौँ रोप वे सेवालाई पुनः सञ्चालन गरी काठमाडौँ केन्द्रित माल सामानको ढुवानी गरिने छ,’ एमालेको चुनावी घोषणा पत्रमा उल्लेख छ, ‘साथै देशका अन्य स्थानमा समेत सम्भाव्यता हेरी मालबाहक रोपवे सेवा निर्माण तथा सञ्चालन गरिने छ ।’
अहिले एमाले र कांग्रेस नेतृत्वको सरकार छ । एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री छन् । तर आफ्नो चुनावी एजेन्डामा समावेश भएको विषय रोपवे पुनः सञ्चालनका लागि आवश्यक पहल गरेको देखिँदैन।
यस्तो छ रोपवेको इतिहास
काठमाडौँ– हेटौँडा रोपवे वि.सं. १९८२ सालमा राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा निर्माण गरिएको थियो । यो मकवानपुरको भीमफेदी नजिकै धोर्सिङबाट मातातीर्थसम्म २२ किलोमिटर लामो रोपवे लाइन निर्माण गरिएको थियो । यही रोपवेबाट काठमाडौँ सामान ढुवानी हुने गरेको थियो । यसपछि १९९२ सालमा जुद्धशमशेरको पालामा टेकुस्थित भन्सार कार्यालयसम्म विस्तार गरेका थिए ।
तत्कालीन श्रम तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत सञ्चालित रोपवे सेवाबाट ९०० जनाले रोजगारी पाएका थिए । रोपवेमा ८ वटा टर्मिनल र ७ वटा स्टेसन छन् । वि.सं.२०५४ सालमा रोपवेको मकवानपुर सबस्टेसन ट्रान्सफर्मरमा समस्या देखियो । त्यसको मर्मत गर्न करिब ५ लाख लाग्ने अनुमान थियो ।
हेटौँडा औद्योगिक क्षेत्रमा उत्पादित सामग्री रोपवेबाट काठमाडौँ ल्याइन्थ्यो । रोपवेले सुरुवाती चरणमा प्रतिघन्टा ८ टन सामान ओसार्न मिल्थ्यो । पछि प्रतिघण्टा २२ देखि २५ टन बोक्ने क्षमतामा पुर्याइएको थियो । चार घण्टामै हेटौँडाको सामान काठमाडौँ आइपुग्थ्यो । मालसमान ढुवानीमा सबैभन्दा सहज साधन बनेको थियो । तर २०११ सालको बाढीले क्षति भएपछि बन्द भयो ।
रोपवे पुनः सञ्चालनमा ल्याउन पहिलो पञ्चवर्षीय योजना (२०१३–२०१८) मा विस्तार योजना तयार गरियो । जसअन्तर्गत २०१६ सालबाट मर्मत कार्य सुरुवात गरियो । अमेरिकी सरकारको सहयोगमा ६४ लाख डलर खर्च गरेर रोपवे मर्मत गरिएको थियो । विस्तार भएको यसको कुल दुरी ४२ किलोमिटर रहेको छ ।
तत्कालीन श्रम तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत सञ्चालित रोपवे सेवाबाट ९०० जनाले रोजगारी पाएका थिए । रोपवेमा ८ वटा टर्मिनल र ७ वटा स्टेसन छन् । वि.सं.२०५४ सालमा रोपवेको मकवानपुर सबस्टेसन ट्रान्सफर्मरमा समस्या देखियो । त्यसको मर्मत गर्न करिब ५ लाख लाग्ने अनुमान थियो । तत्कालीन समयमा सो खर्च सरकारले व्यवस्थापन नगर्दा यो रोपवे जीर्ण बन्दै गयो ।
सुरुमा यस रोपवेमा ३६० वटा डिब्बा सामान ओसार्न प्रयोग गरिएको थियो । २०५५ सालमा १६० वटा डिब्बा थिए । यसपछि २०५६ सालमा रोपवे पूर्ण रूपमा बन्द हुन पुग्यो । रोपवे बन्द भएको ३ वर्षपछि २०५९ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले रोपवे खारेजी गर्ने निर्णय गरे । त्यस यता रो वे सञ्चालनमा आउन सकेको छैन र अवस्था जीर्ण छ ।
रोपवे सञ्चालन गर्न सकिएला ?
यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका प्रमुख पुष्करप्रसाद पोखरेल हेटौँडा–काठमाडौँ रोपवे सञ्चालन गर्न सम्भव नभएको बताउँछन् । ‘सञ्चालन गर्न सकिन्छ भन्ने लाग्दैन । धेरै परिवर्तन भयो । बाटोघाटो बन्यो । अहिले ट्रकबाट मालवस्तु ओरपसार हुन्छ,’ प्रमुख पोखरेल भन्छन्, ‘सामान ओसार्नलाई जता पनि बाटैबाटा छन् । फास्ट ट्रयाक पनि निर्माण हुँदै छ ।’
तर पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्नका लागि रोपवे सेवा उपर्युक्त हुने उनको भनाइ छ । ‘ढुवानी गर्न यसबाट के फाइदा हुन्छ, त्यो अध्ययनले बताउला । तर यसबाट कति माल ढुवानी गर्न सक्छौँ यो हिसाब पेट्रोलभन्दा सस्तो परेदेखि वातावरमैत्री हुने भएकाले राम्रो हो,’ उनले भने ।
यसैगरी पुरानो रोपवेका पार्टपुर्जा काम लाग्ने अवस्थामा नरहेकाले खर्च धेरै लाग्ने उनको भनाइ छ । ‘यसका पार्टपुर्जा काम लाग्दैनन् । १/२ वटा कतैकतै बक्स देखिन्छ,’ प्रमुख पोखरेल भन्छन् ,‘पुरानो सञ्चालन गर्न सम्भव छैन तर यहाँ जग्गा के कति छ सम्पत्ति व्यवस्थापन होला तार र बक्स कति छन् बेचेर आर्थिक लाभ लिन सकिन्छ । ’ राताेपाटीका लागि कल्पना घिमिरेले लेखेकाे खबर साभार ।