ट्राइबेकरमा भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा

निरन्तर न्यूज
१२ कार्तिक २०८१, सोमबार ०७:५२

काठमाडौं । भारतलाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। दशरथ रंगशालामा भारतलाई टाईब्रेकरमा ४- २ ले हराउँदै नेपाल छैटौं पटक उपाधि नजिक पुगेको हो ।

निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। जसमा नेपालले बाजी मार्याे । ट्राइब्रेकरमा नेपालका सावित्रा भण्डारी, गीता रानामगर, सविता रानामगर र अमिसा कार्की चारै जनाले गोल गरे ।

भारतकी मनिषा, के पुरुषोत्तमको प्रहार सफल हुँदा कप्तान आसालता र रञ्जना चानुको पेनाल्टी प्रहारमा चुके।

यसअघिका चार संस्करणमा उपाधिका लागि भिडेका यी दुई टोली लगातार दोस्रोपटक सेमिफाइनलमा आमनेसामने भएका थिए।

निकै तनावपूर्ण खेलमा नेपाल ५२ औं मिनेटदेखि १० खेलाडिमा सीमित भयो । रेखा पौडेलले दोहोरो पहेंलो कार्डपछि रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि ५२औं मिनेटमा नेपाल १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि तनावपूर्णस्थिती सृजना हुँदा खेल करिब १५ मिनेट रोकिएको थियो । नेपाल १० खेलाडिमा सीमित भएको फाइदा उठाउँदै भारतले खेलमा शुरुवाती अग्रता लियो ।

७२औं मिनेटमा संगीता बाँसफोरेको गोलमार्फत भारतले अग्रता लिएको थियो । उनले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारले जाली चुम्यो ।

गोलपछि भारतीय खेलाडीले खुसीयाली मनाउँदै गर्दा रेफ्रीले प्ले अनको ह्विसल बजाएपछि नेपालले बल अगाडि बढाउँदै बराबरी गोल फर्काएको थियो । तर प्रीति राईको गोललाई रेफ्रीले मान्यता दिएनन, प्रिती ले गोल गरेपछि भारतीय अफिसियल मैदानमा छिरे । रेफ्रीले गोल नदिँदा फेरि तनावकोस्थिती सृजना भयो ।

रेफ्रीको निर्णयमा नेपाली दर्शकले बोलत प्रहार गरेपछि खेल पुनः रोकियो । करिब १ घन्टा १५ मिनेट रोकिएपछि खेल सुरु भएको थियो । खेल १० मिनेट घटाइएको थियो ।
खेल सुरु भए लगत्तै सावित्राले नेपालका लागि बराबरी गोल फर्काइन् । त्यसपछि थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो ।
दशरथ रंगशालामा भारतले सुरुवाती १५ मिनेट नेपाललाई पूर्ण दबाबमा राखेको थियो । त्यसपछि नेपालले खेलमा केही अवसर सिर्जना गरेपनि त्यसको सदुपयोग गर्न सकेन । अन्त्यतिर भारतले पेनाल्टी क्षेत्र भित्रबाट लगातार आक्रमण गरेपनि डिफेन्सले रोक्यो ।

अब फाइनलमा नेपालले बंगलादेशसँग खेल्नेछ । आईतवारनै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*