छतमा यात्रु बोक्ने सवारीसाधनलाई २० हजारसम्म जरिवाना

निरन्तर न्यूज
२२ आश्विन २०८१, मंगलवार ११:५३

धादिङ । जोखिमपूर्ण तरिकाले निर्वाध रूपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ ।

यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले छतमा खचाखच यात्रु बोक्ने क्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कारबाहीलाई कडाइ गरेको हो ।

खाद्यान्न तथा अन्य सामानले भरिभराउ भएका जिपमा जोखिमपूर्ण ढंगले यात्रु चढाएर सदरमुकामबाट ग्रामीण भेगतर्फ जाँदै गरेका र ग्रामीण भेगबाट सदरमुकाम आउँदै गरेका जिपलाई बीच बाटोमै रोकेर २० हजारसम्म जरिवाना गराइएको छ । पटक पटक सचेत गराउँदा पनि अटेर गरेकाले ती सवारीसाधनलाई कारबाही गर्नुपरेको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार यातायात व्यवसायी, सवारी चालक र सरोकारवाला निकायका प्रतिनिधिलाई राखेर सवारी सञ्चालनका विषयमा पटक पटक जानकारी गराउँदा पनि कुनै सुधार नदेखिएपछि गलत ढंगबाट चलिरहेका रातो नम्बर प्लेटका बोलेरो जिपहरु कारबाहीमा परेका हुन् ।

केही दिनयता प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसमेत फिल्डमा खटिएर बजार तथा यातायात अनुगमनलाई तीव्र पारेको छ । अनुगमन टोलीले उपभोक्ताको हित विपरीत देखिएका सबै गतिविधिको निरीक्षण गरी कारबाही गर्दै आएको छ । अनुगमनका क्रममा रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोकेको फेला पारेपछि र यात्रुवाहक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु चढाएको भेटिएपछि यात्रु ओरालेर गाडी नियन्त्रणमा लिने गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*