आज नवरात्रको छैटौँ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै

निरन्तर न्यूज
२२ आश्विन २०८१, मंगलवार ११:४१

काठमाडौं । आज आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन । आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

छान्दोग्य श्रुतिका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सन्तकुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमानताका नामले चिनिन्छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गर्ने गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन शुक्रबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन आइतबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । पाँचौँ दिन सोमबार पनि चौथी तिथि वृद्धि भएकाले कुष्माण्डा देवीकै पूजा आराधना गरिएको थियो । नवरात्रको छैटौँ दिन आज भने स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गर्न लागिएको हो ।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्द माता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धि दात्रीको पूजा आराधना गर्ने गरिन्छ । यस वर्ष भने चौथी तिथि वृद्धि भई दुई दिनको सूर्योदयकलामा तिथि परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यी नै नौ वटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*