बाढि पहिराेकाे कारण थाहा नगरका २६ वटा खानेपानी योजनामा क्षति

निरन्तर न्यूज
२२ आश्विन २०८१, मंगलवार ११:३२

हेटौँडा । अविरल वर्षापछि असोज ११ र १२ गते आएको बाढी पहिरोका कारण मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाको २६ वटा खानेपानी आयोजनामा करिव एक करोड ६३ लाख रुपियाँ बराबरको क्षति भएको छ । वर्षाका कारण खानेपानी आयोजनाहरूमा सो क्षति भएको थाहा नगरपालिकाले जनाएको छ ।

थाहामा खानेपानीका १८ वटा इन्टेक, २४ वटा खानेपानी रिजर्भ ट्याङ्कीमा क्षति पुगेको नगरपालिकाले तयार गरेको प्रारम्भिक क्षतिको तथ्याङ्कमा उल्लेख छ । विभिन्न साइजका गरी १६ हजार १७० मिटर पोलिथिन पाइप क्षति भएको छ भने एक हजार ३२४ मिटर जीआई पाइपमा क्षति भएको पालिकाले जनाएको छ ।

नगरपालिकाको प्रारम्भिक तथ्याङ्क अनुसार इन्टेकहरुमा भएको क्षति करिब ९ लाख, रिजर्भ ट्याङ्कीहरुको क्षति मूल्याङ्कन एककरोड ३१ लाख ७५ हजार रुपियाँ रहेको छ । त्यसैगरी पोलिथिन पाइप २० लाख १७ हजार ४५१ र जिआइ पाइपको क्षति मूल्याङ्कन २ लाख १० हजार ४६६ रुपियाँ रहेको नगरपालिकाका सव इन्जिनियर सीताराम ढकालले जानकारी दिए ।

पालिकाको १२ वटै वडाहरुबाट तथ्याङ्क सङ्कलन गरी पालिकामा एकीकृत गरी क्षतिको मल्याङ्कन गरिएको थाहा नगरपालिकाका सूचना अधिकारी सुरज कुमार भुजेलले जानकारी दिए । खानेपानी आयोजनामा भएको क्षति पुननिर्माणका लागि पालिकासँग बजेट अभाव भएका कारण खानेपानी डिभिजन, मन्त्रालय तथा विभागहरूमा अनुरोध गरी पठाइएको सूचना अधिकारी भुजेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*