हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-फर्पिङ सडक आज साँझदेखि सञ्चालनमा आउने

निरन्तर न्यूज
२० आश्विन २०८१, आईतवार ०९:१२

हेटौंडा । एक साताअघिको बाढीपहिरोले क्षतिग्रस्त हेटौंडा-काठमाडौ जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-फर्पिङ सडक आइतबार साँझदेखि सञ्चालनमा आउने भएको छ । सिमखोलामा डाइभर्सन बनाएर फिलिङ गर्ने काम सकिएपछि आजदेखि सडक सञ्चालनमा आउने भएको हो ।

हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-फर्पिङ सडक कुलेखानी ड्याममुनिको सिमखोलास्थित सडक र महालक्ष्मी खोलानजिकै बाढीपहिरोले क्षति पुर्‍याएपछि असोज १२ गतेदेखि अवरुद्ध रहेको थियो ।

एक साता लामो प्रयासपछि दुवै स्थानमा ट्रयाक खोल्ने काम भएको र सवारी साधन सञ्चालनका लागि अन्तिम चरणमा पुर्‍याइएको वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुस्करप्रसाद पोखरेलले बताए ।

कुलेखानी ड्याम नजिक रहेको पुलको पहुँचमार्ग बगाएपछि डाइभर्सन बनाइएको छ भने महालक्ष्मी खोलानजिक तलबाट उठाएर सडक बनाइएको छ । ‘अहिले पनि सवारी साधन चलाउन सकिन्छ तर जोखिम हुने भएकोले आइतबार साँझबाट मात्र चलाउने तयारीमा छौँ,’निर्देशक पोखरेलले भने ।

हेटौंडाबाट कुलेखानी ड्यामसम्म सवारी र फाखेलबाट फर्पिङतर्फ सडक भने सञ्चालनमा रहेको छ । सिमखोलाको डाइर्भसन र महालक्ष्मी खोला क्षेत्रमा सडक पुनर्निर्माण पश्चात हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-फर्पिङ काठमाडौं र कुलेखानी-भीमफेदी-चखेल-मातातीर्थ हुँदै सवारी साधन थानकोट आवतजावत गर्न सक्छन् ।

फाखेलको मोटरबाटो सञ्चालनमा आएपछि सिस्नेरी-दक्षिणकाली-फर्पिङ सडकसमेत १,२ दिनभित्रमा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको पोखरेलले बताए । कान्ति राजपथ पनि १,२ दिन भित्रमा सञ्चालनमा प्रयास भइरहेको निर्देशक पोखरेलको भनाइ छ । कान्तिराजपथको वाग्मती पुल र पुलको पहुँच मार्ग बनाउन नेपाली सेनाको टिम खटिएको छ ।

हेटौंडाबाट काठमाडौं जोड्ने छोटो दूरीको सडक मार्ग र कान्ति राजपथ अवरुद्ध भएकाले मुलुकका पूर्वी भाग जाने सवारी साधन पनि त्रिभुवन राजपथ हुँदै चित्लाङ-चन्द्रागिरीबाट आउजाउ गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*