बाढीपहिराेले क्षति पुर्याएका ४५ स्थानीय तहलाई बागमती सरकारले सहायता गर्ने

निरन्तर न्यूज
१९ आश्विन २०८१, शनिबार १९:५२

हेटाैँडा । बागमती प्रदेश सरकारले बाढीपहिरोले क्षति पुर्‍याएको रकम सहायता प्रदान गर्ने भएको छ ।

शनिबार हेटौंडामा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशका ४५ वटा स्थानीय तहलाई ५ करोड ८० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेकाे सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।

जसमध्ये ७ वटा स्थानीय तहलाई २०/२० लाख, १२ वटा स्थानीय तहलाई १५ /१५ लाख र २६ वटा स्थानीय तहलाई १०/१० लाखका दरले  कुल ५ करोड ८० लाख रुपैयाँ दिने निर्णय गरेकाे प्रवक्ता लामिछानेले जानकारी दिए ।

असोज १० गतेदेखि १२ गतेसम्म परेकाे वर्षाका कारण बाढीपहिरोबाट धेरै क्षति पुगेको मकवानपुरको इन्द्रसरोबर गाउँपालिका काभ्रेपलाञ्चोकको रोशी, बेथानचोक र तेमाल गाउँपालिका तथा पनौती नगरपालिका, सिन्धुलीको सुनकोशी गाउँपालिका, ललितपुरको महांकाल गाउँपालिकालाई बढी जोखिमयुक्त क्षेत्र भएकाले २० लाखका दरले १ करोड ४० लाख रकम निकासा गरिने सरकारका प्रवक्ता  लामिछानेले जानकारी दिए ।

यसैगरी मकवानपुरको बागमती गाउँपालिका, काठमाडौंको चन्द्रागिरी र नागार्जुन नगरपालिका, ललितपुरको गोदावरी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका, सिन्धुपाल्चोकको जुगल र लिसंखुपाखर गाउँपालिका, भक्तपुरको सूर्यविनायक नगरपालिका, रामेछापको खाँडादेवी गाउँपालिका, दोलखाको बिगु र धादिङको गजुरी गाउँपालिकामा १५ लाखका दरले १ करोड ८० लाख रुपैयाँ रकम निकासा गर्ने निर्णय भएको मन्त्री लामिछानेले बताए ।

यस्तै दोलखाको शैलुङ, गौरीशंकर र तामाकोशी गाउँपालिका, धादिङको बेनिघाट रोराङ, नेत्रावती डब्जोङ गाउँपालिका र धुनिवेशी नगरपालिका, रामेछापको मन्थली र रामेछाप नगरपालिकासहित गोकुलगंगा, दोरम्बाशैलुङ, सुनापति, लिखुतामाकोशी र उमाकुण्ड गाउँपालिकामा १० लाखका दरले रकम निकासा हुने भएको छ ।

यस्तै, मकवानपुरको बकैया गाउँपालिका, सिन्धुलीको गोलन्जोर र फिक्कल गाउँपालिका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, भोटेकोशी, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिका, काभ्रेको नमोबद्ध र मण्डनदेउपुर नगरपालिका तथा चौरीदेउराली, महाभारत गाउँपालिका र चितवनको माडी नगरपालिका र इच्छाकामना गाउँपालिकालाई १०–१० लाख गरी २ करोड ६० लाख रुपैयाँ निकासा दिने निर्णय भएको कानूनमन्त्री लामिछानेले जानकारी दिए ।

उक्त रकम प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित स्थानीय तहको विपद व्यवस्थापन कोषमा पठाइने भएकाे छ । प्रदेश विपद् व्यवस्थापन कोषमा रकम न्यून रहेको भन्दै मन्त्रिपरिषद्ले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १० करोड ५० लाख रुपैयाँ निकासा गर्ने निर्णय समेत गरेकाे मन्त्री लामिछानेले बताए ।

यसैगरी प्रदेश सरकारले असोज १२ मा नख्खु खोलामा आएको बाढीमा पसेका २ जनाको जीवन रक्षा गरेको भन्दै उनलाई  १ लाख ५० हजार रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*