आज नवरात्रकाे तेश्राे दिन : चन्द्रघण्टा देवीको पूजा गरिँदै

निरन्तर न्यूज
१९ आश्विन २०८१, शनिबार ०८:४६

काठमाडौं । नवरात्रको तेस्रो दिन शनिवार दशैं घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ ।

नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए ।

चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो । चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरुपलाई नाश गर्नुहुन्छ । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौं शक्ति प्राप्त हुन्छ ।

चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवं ग्रन्थमा व्याख्या गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताए। चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त, एवं करुणामयी छ ।

गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने पनि उनले सुनाए ।

नवरात्रको पहिलो दिन बिहीवार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ ।

शनिवारको सार्वजनिक बिदाको दिन भएकाले पनि शक्तिपीठमा विशेष भीड लाग्ने गर्छ । नवरात्र नपरेका शनिवार पनि शक्तिपीठमा भक्तजनको विशेष भीड लाग्ने गरेको छ ।

गत वर्षजस्तो कोरोना भाइरसको सङ्क्रमण नरहेकाले सबैजसो मन्दिर खुला भएका छन् । कोरोना महामारी कम भए पनि जोखिम अन्त्य भइनसकेकाले शक्तिपीठमा जाने भक्तजनलाई भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधि अपनाउन प्रशासनले विशेष आह्वान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*