मकवानपुरकाे सिस्नेरी पहिराेमा परि ज्यान गुमाएका एकेडेमीका खेलाडीका परिवारलाई राहत प्रदान

निरन्तर न्यूज
१८ आश्विन २०८१, शुक्रबार २०:३१

हेटौंडा । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मकवानपुरको इन्द्रसराेवर गाउँपालिका ३  सिस्नेरीमा आएको पहिरोमा परेर ज्यान गुमाएका अखिल नेपाल फुटबल संघ एकेडेमीका दुई खेलाडीका परिवारलाई प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरका संयोजक तीर्थराज चिलुवालको टोलीले घरमै पुगेर बिहीबार राहत उपलब्ध गराएका छन् ।

सरकारको तर्फबाट प्रजिअ चिलुवालले प्रति मृतकका परिवारलाई २/२ लाख रुपैयाँकाे चेक हस्तान्तरण गरेका थिए । हेटौंडा उपमहानगरपालिका १२ का मृतक अनुपम घलानका बाबु ललित घलानलाई २ लाख रुपैयाँ प्रजिअ चिलुवालले हस्तारन्तरण गरेका थिए । घलान जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख हुन् ।

यसैगरी मकवानपुरगढी-४ का मृतक साइमन योञ्जनका बाबु हेमबहादुर योञ्जनलाई प्रजिअ चिलुवालले २ लाख रुपैयाँकाे हस्तान्तरण गरेका थिए । उक्त राहत रकम हस्तान्तरण गर्न मकवानपुरका सुरक्षा निकायका प्रमुखहरु पुगेका थिए ।

मकवानपुरको सिस्नेरी टेकरका दिवस बानियाँको परिवारलाई पनि सिस्नेरीस्थित घरमा नै गएर उक्त राहत रकम हस्तान्तरण गरिने प्रजिअ चिलवालले बताए ।

हेटौंडाबाट सिस्नेरी पुग्नु कुलेखानी ड्याम नजिकबाट झन्डै तीन घन्टा पैदल हिँडनु पर्छ । सिस्नेरीको पहिरोमा परेर एन्फा एकेडेमीका ६ जना खेलाडीको पहिरोले पुरेर मृत्यु भएको थियो । मृत्यु हुनेमा मकवानपुरका तीन जना बाहेक अन्य तीन जनामा सर्लाहीका आदित्य बलम्पाखी, काठमाडौंका प्रियान्स आचार्य र निजगढका बिकल रेग्मी थिए । इन्द्रसरोवर गाउँपालिका–३, वत्सलादेवी माविमा एन्फाले राखेको यू–१४ क्याम्पका ४० खेलाडीमध्ये ६ जनाले पहिरोमा परेर ज्यान गुमाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*