मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा ज्ञवाली नियुक्त

निरन्तर न्यूज
१७ आश्विन २०८१, बिहीबार ०७:४७

हेटौंडा । बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा प्रदिप ज्ञवाली नियुक्त भएका छन् । बागमती प्रदेशको आज बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले उपकुलपतिमा ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको हो । एमालेका तर्फबाट ज्ञवालीलाई नियुक्त गरिएको हो ।

पहिले उपकुलपति रहेका प्राध्यापक डाक्टर विश्वराज जोशीको पदावधि सकिएपछी लामो समय देखि प्रतिष्ठानमा उपकुलपति नियुक्त हुन सकेको थिएन । तर, आज प्रदेशका मख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा भएको बैठकले ज्ञवालीलाई नियुक्तको निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन–२०७६ को चारवटा बुँदा संशोधन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बताए । ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हालसम्म सामाजिक विकास मन्त्रालय मातहत रहेको छ । अब कानुन संशोधन गरी स्वास्थ्य मन्त्रालयलाई अधिकार हस्तान्तरण गर्न लागिएको हो,’ उनले भने ।
प्रदेशमा रिक्त रहेको कर्मचारी दरबन्दीमध्ये ५ जना सचिव संघीय सरकारबाट प्रदेशमा हाजिर भएको र उनीहरुको जिम्मेवारी तोक्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

प्रदेशमा हाल वन तथा वातावरण, जलस्रोत तथा सिँचाइ, पर्यटन मन्त्रालय, प्रदेश नीति तथा योजना आयोग र मुख्यमन्त्री कार्यालयमा प्रशासनतर्फ सचिव पद रिक्त रहेका छन् । बैठकले स्वास्थ्य मन्त्रालयअन्तर्गतका ११ औं तहका चार जना कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको मन्त्री लामिछानेले जानकारी दिए ।

बैठकले युवा तथा खेलकुद मन्त्रालयले संविधान दिवसको दिनमा अन्तर्राष्ट्रिय खेलमा पदक जित्न सफल खेलाडी, प्रशिक्षक, व्यवस्थापक र संघलाई उपलब्ध गराउने घोषणा गरेको पुरस्कार रकम निकासा गर्ने निर्णय गरेको उनले जानकारी दिए । मन्त्री लामिछानेका अनुसार तत्काल पुरस्कारबापत्को रकम उपलब्ध गराउन प्रदेश खेलकुद विकास परिषद्लाई २३ लाख रुपैयाँ उपलब्ध गराइनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*