महालक्ष्मी साहित्य पुरस्कार महाकाव्यकार अर्याललाई प्रदान गरिने

निरन्तर न्यूज
३१ भाद्र २०८१, सोमबार ०८:०२

हेटाैँडा । महालक्ष्मी साहित्य पुरस्कार २०८० महाकाव्यकार मुना अर्याललाई प्रदान गरिने भएको छ। महालक्ष्मी विकास बैंक र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रूपमा प्रदान गर्ने यो पुरस्कारमा  ५१ हजार रुपैया नगद र सम्मानपत्र रहेकाे छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा बैंकका हेटौंडा शाखा प्रबन्धक अनन्तराज धितालका अनुसार  यो पुरस्कार हालसम्म २० जना साहित्यकारलाई प्रदान गरिसकिएको छ। प्रबन्धक धितालका अनुसार बैंकले २०५९ देखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत साहित्य क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान र पुरस्कृत गर्दै आएको छ।

यसैगरी, मातृभूमि समाजको संयोजनमा केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०८० मकवानपुरका पत्रकार माधव न्यौपानेलाई प्रदान गरिने भएको छ। समाजका अध्यक्ष कृष्णप्रसाद दाहालका अनुसार न्यौपानेलाई सम्मानपत्रसहित रु. १०,००० नगद प्रदान गरिनेछ।

समाजले प्रदान गर्ने मकवानपुर श्री सम्मानबाट मकवानपुरका अग्रज शिक्षासेवी बद्रीनाथ शर्मा अर्याल सम्मानित हुने भएका छन्।  आगामी असोज ५ गते एक विशेष समारोहका बीच पुरस्कार तथा सम्मान प्रदान गरिनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*