हेटाैँडाकाे दाजुभाइ फास्टफुडलाई २५ हजार जरिवाना, फेरी त्यहाँकै खानेकुरा पुग्छ सरकारी कार्यक्रममा !

निरन्तर न्यूज
२८ भाद्र २०८१, शुक्रबार २०:२९

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको नेतृत्वमा चाडपर्व लक्षित बजार अनुगमन सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु उद्योग वाणिज्य कार्यालय र उपभोक्ता हितसंरक्षण मञ्चको संयुक्त बजार अनुगमन सुरु भएको हो ।

यसपालीदेखि सरोकारवाला निकायले बजार अनुगमनलाई ‘आक्रामक’ बनाउँदै कमजोरी देखिए ठाउँकोठाउँ कारबाही गरेर जरिवाना तिराउने भएको छ । विगतमा बजार अनुगमनबाट फर्किएर कार्यालयमा कमजोरीका दृष्टिले कस्तो कारबाही गर्ने भन्ने निर्णय हुने गरेको थियो । यसो हुँदा कमजोर कारबाही र बजार अनुगमनको प्रभावकारितामाथि प्रश्न उठ्ने गरेको थियो ।

यसअघि विभिन्न निकायसँग समन्वय गरेर गर्ने बजार अनुगमन नाम मात्रैको अनुगमन हुने गरेको पाइएको उपभोक्ताहरुले नै गुनासो गर्ने गरेका थिए । अनुगमनका क्रममा व्यापारी तथा व्यवसायीलाई दिएको निर्देशन कार्यान्वयन नभएपछि नाम मात्रैको बजार अनुगमनमा सीमित हुने गरेको उपभोक्ताहरुको भनाई थियो ।

तर, बिहीवारबाट सुरु बजार अनुगमनले भने कमजोरी देखिए ठाउँकोठाउँ कारबाही गर्दै जरिवाना तिराएको हो । हेटौंडामा वर्षौदेखि सञ्चालनमा आएको हेटौंडा–४, पारिजातपथस्थित दाजुभाइ फाष्टफुडलाई संयुक्त बजार अनुगमनको क्रममा उपमहानगरपालिकाले २५ हजार जरिवाना गराएको छ । चितवनको शाखाको रुपमा रहेको पारिजातपथकै वैष्णव होटललाई पनि २५ हजार नै जरिवाना गराइएको छ । यी दुई होटललाई सात दिनभित्र उपमहानगरपालिका कार्यालयमा जरिवाना तिर्न पत्र काटिएको छ ।

दाजुभाइ फाष्टफुडमा भान्सा फोहोर भएको, मःम बनाउन ल्याइएको बन्दा कुहिएको अवस्थामा अव्यवस्थितसँग राखिएकोलगायतको कमजोरी फेला परेको थियो । दाजुभाइ फाष्टफुडका सञ्चालक राजकुमार गौतमलाई आज शुक्रबार कार्यालयमा अनिवार्य उपस्थित हुन अनुगमन समितिले निर्देशन दिएको छ । दाजुभाइको खोपेगल्लीमा रहेको मिठाईको भान्सामा फोहोरको ढल निकास नगरी नजिकै मिठाई बनाइरहेको अनुगमन टोलीले फेला पारेको थियो । भान्सा सुधार गर्न निर्देशन दिइएको उपमहानगरको उद्योग, पर्यटन, सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेलले जानकारी दिए ।

दाजुभाइकाे खानेकुरा हेटाैँडाका अधिकांस कार्यालयमा पुग्ने गरेकाे छ ।  राम्राे कमिशन र लामाे समयकाे लागि उधाराे काराेवार गर्न सहज हुने भएकाेले अधिकांस  सरकारी कार्यालयकाे पहिलाे राेजाइ नै दाजुभाइ फास्टफुड हाे । यसै कारण पटक पटक कारवाहीमा पर्दा पनि दाजुभाइकाे सरकारी पहुँचका कारण अटेर गरेर भान्छा फाेहाेर, अखाद्य खानेकुरालागायतका विषय सामान्य बनेकाे छ । त्यसमा अनुगमन गर्ने टिमले झाराे टार्ने काम गर्दा यस्ता व्यापारीहरुकाे मनाेबल झन उच्च गराउने देखिन्छ ।

यसैगरी, पछिल्लाे समय आफुलाई हेटाैँडामा स्थापित गराउने उद्देश्यले सन्चालनमा आएकाे वैष्णव होटलले कालो ढुसी परेको पाउरोटी बिक्रीका लागि राखेको अनुगमन टोलीले फेला पारेको थियो । वैष्णवमा भान्सा सरसफाई नगरिएको, उद्योग वाणिज्य कार्यालयमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको, बिक्रीका लागि राखिएका खाद्यवस्तुको लेबलिङ उपयुक्त तरिकाले नराखेको भेटिएको थियो । वैष्णव होटलले चितवनबाटै मःमलगायतका तयारी खाद्यवस्तु हेटौंडा ल्याएर बिक्री गर्ने खुलेको छ । पारिजातपथमै अनमोल होटलको भर्खरै सञ्चालनमा आएको भनिएको नयाँ होटललाई सचेत गराइएको छ ।

बजार अनुगमनको नेतृत्व उपमहानगरको आर्थिक विकास महाशाखाअन्तर्गतको उद्योग, पर्यटन, सहकारी शाखा प्रमुख पौडेलले गरेका थिए । अनुगमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका दीपक पौडेल, खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्यनिरीक्षक दीपक घिमिरे, घरेलु उद्योग वाणिज्य कार्यालय प्रमुख रामप्रसाद भुषाल, उद्योग वाणिज्य संघ, उपभोक्ता हितसंरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष बासु खतिवडा, मकवानपुर उद्योग वाणिज्य संघका पवन कार्की लगायतको उपस्थिति रहेको थियो । बजार अनुगमनलाई तीव्रता दिइने बताइएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*