पशुपति कोटिहोमले सार्वजनिक गरेकाे हिसाब अपत्यारिलो, ७२ लाख घाटा देखाइयाे

निरन्तर न्यूज
२८ भाद्र २०८१, शुक्रबार २०:११

काठमाडौं । पशुपतिनाथ मन्दिरमा एक महिनासम्म आयोजना भएको कोटिहोममा आम्दानीभन्दा खर्च धेरै भएको विवरण आयोजकले सार्वजनिक गरेको छ ।

कोटिहोम सकिएको झन्डै एक महिनापछि आयव्यय विवरण सार्वजनिक गर्दै अपत्यारिलो खर्च विवरण आयोजक मानव सेवा फाउन्डेसन र महायज्ञ सङ्कल्पकर्ता विजय भण्डारीले सार्वजनिक गरेका हुन् ।

एक महिनासम्म गोप्य राखिएको हिसाब चौतर्फी दबाब भएपछि आयोजकले सार्वजनिक गर्न बाध्य भयो । तैपनि विश्वसनीय देखिँदैन ।

सङ्कल्पकर्ता भण्डारीका अनुसार कोटिहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र दान संकलन भएको थियो ।

कोटिहोमका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको दाबी गरिएको छ ।

यस अनुसार ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको दाबी छ । जबकि आयोजक सदस्यहरूले नै महायज्ञको दोस्रो सातासम्म दिनमा डेढ करोड रुपैयाँका दरले दैनिक चन्दा संकलन भइरहेको भन्दै युट्युब मिडियामा बोलेका थिए ।

३२ दिन चलेको महायज्ञको आधा समयमै २० लाख करोड रुपैयाँ खर्च उठेको दान सचिवालयका कार्यरत केही कर्मचारीको दाबी छ । तर, आयोजकले भने जम्मा २० करोड १५ लाख ८२ हजार दान उठेको भन्दै उल्टो ऋणमा डुबेको दाबी गरेको छ ।

पशुपतिपछि विजय भण्डारीको अर्को धन्दा पोखरामा, ४५ दिन महायज्ञ लगाउने भन्दै चन्दा सङ्कलन (भिडिओ)

महायज्ञमा कबोल भएको मध्ये डेढ करोडदेखि २ करोड रूपैयाँ आउन बाँकी रहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यो रकम आयो भने बचत हुने भण्डारीले बताए ।

सार्वजनिक विवरण अनुसार नगद रसिदबाट १७ करोड ४६ लाख ३७७ रुपैयाँ संकलन भएको थियो । क्यूआर पेमेन्टबाट १ करोड ३६ लाख ७९ हजार ३४० रुपैयाँ उठेको थियो । दान पेटिकामा ४१ लाख ७७ हजार रूपैयाँ प्राप्त भएको थियो ।

आयोजकमध्येकै एक सदस्य भन्छन्, ‘‘महायज्ञमा करिब १३\१४ करोड हाराहारीमा खर्च भएको देखिन्छ । पैसा पनि ३० करोडभन्दा माथि नै उठेको जस्तो देखिन्थ्यो । तर, लामो गृहकार्यपछि घाटा देखाएर हिसाब सार्वजनिक भयो । हामी नै चकित परेका छौँ ।’’

पक्राउ पर्ने डरले भागे विजय भण्डारी, छानबिन समितिमा दिएनन् बयान

रहस्यको कुरा, आयोजकले रसिद सबै लुकाएको छ । यसले आयोजकले जिकिर गरेकैअनुसार चन्दा संकलन भएको पत्याउन सकिँदैन ।

अनि खर्च दाबी गरेको विवरण सार्वजनिक भए पनि त्यो खर्च कसरी भएको भनेर देखाइएको छैन । केहीको पनि बिल र रकम बुझेको रसिद देखाइएको छैन । अर्को कुरा महिना दिनका लागि कर्मचारी खर्च भन्दै पाँच करोड रुपैयाँ खर्च देखाइएको छ ।

तर, महायज्ञमा खटिएका कर्मचारी भने पैसा नभएको भन्दै आन्दोलनमा छन् । आयोजकले भने भोलेन्टियरका रूपमा खटाएको भनेको थियो । तर, अहिले पाँच करोड रुपैयाँ उनीहरूकै लागि खर्च भएको दाबी गरिएको छ ।

अनाथालय आश्रम बनाउने भन्दै भक्तजनलाई ‘ठगी’
साउनभर चलेको महायज्ञबाट उठेको रकमले मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणलगायत मानवीय सेवाका लागि सहयोग जुटाउने योजना थियो ।

तर अहिले आयोजकले ७२ लाख घाटा भएको विवरण सार्वजनिक गरेको छ । हिसाब लुकाएर भक्तजनलाई ठगी गरिएको भन्दै भक्तजनहरूले आक्रोश पोखेका छन् ।

मामाघर अनाथालय आश्रमले अनाथ र आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकालाई निःशुल्क भोजन, आवास तथा स्वास्थ्य र शिक्षा प्रदान गर्दै आएको छ । अब उनीहरुले न त आश्रम बनाउनेछन् न त कुनै काम नै गर्नेछन् ।

कोटिहोमका क्रममा खटिएका स्वयंसेवकहरू र सामान उपलब्ध गराएका व्यापारीहरूले अझै पनि भुक्तानी नपाएको गुनासो गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*