अख्तियारले कर्मचारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा चलायो

निरन्तर न्यूज
२८ भाद्र २०८१, शुक्रबार ०८:१८

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलो पटक गैरकानुनी धनआर्जन गरी सम्पत्ति शुद्धीकरण गरेको कसुरमा सार्वजनिक पद धारण गरेका कर्मचारीविरुद्ध सम्पत्ति शद्ध‍ीकरणसम्बन्धी मुद्दा दायर गरेको छ ।

अख्तियारले लुम्बिनी विकास कोषका तत्कालीन योजना प्रमुख ईन्जिनियर सरोज भट्टराईलाई मुख्य अभियुक्त र उनकी आमा जनक नन्दनी भट्टराईलाई मतियारका रुपमा प्रतिवादी बनाएर बिहीबार १ करोड ८५ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अनुसार कोषका तत्कालीन योजना प्रमुख भट्टराईले ठेकेदारलाई टेण्डर मिलाइदिएवापत् घुसमा लिएको १ करोड ८५ लाख रुपैयाँ रकम शुद्धीकरण गरेर आमा जनकनन्दनी भट्टराईका नाममा भक्तपुरको गुण्डुमा जग्गा किनेको अनुसन्धानबाट पुष्टि भएको अख्तियारका प्रवक्ता सहसचिव नरहरि घिमिरेले बताए । घिमिरेका अनुसार त्यही आधारमा उनीहरू दुवैलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो ।
भट्टराईले ८० लाख रुपैयाँ घुस लिएको रुकमसम्बन्धी कसुरमा यसअघि नै मुद्दा दायर भएकोमा उनी विशेष अदालतबाट दोषी ठहर भइसकेका थिए । थप अनुसन्धान गर्दा भट्टराईले कोषको ठेक्कापट्टा लगाउँदा अरु १ करोड ५ लाख रुपैयाँ पनि घुस वापत लिएर आमाका नाममा जग्गा किनेको भेटिएको छ।

अख्तियारले अघिल्लो पटक दायर गरेको मुद्दाको ८० लाख र थप अनुसन्धानबाट खुलेको १ करोड ५ लाख घुस वापतको रकम शुद्धीकरण गरी जग्गा खरिद गरेको कसुरमा कूल १ करोड ८५ लाख रुपैयाँँ बिगो कायम गरेर पहिलो पटक सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ । घुस वापतको रकम शुद्धीकरण गरेर किनिएको २ रोपनी ११ आना २ पैसा जग्गा पनि जफत गर्न मागदावी लिएको छ ।

२०८० चैत २५ मा अख्तियारले कोषको सार्वजनिक निर्माणसम्बन्धी ठेक्कापट्टामा घुस खाएको अभियोगमा भट्टराई र उनकी आमा जनकनन्दनीविरुद्ध मुद्दा दायर गरेकोमा त्यसको २ महिनापछि २०८० जेठ ३१ मा सरोजलाई दोषी ठहर गर्दै ८० दाख रुपैयाँ जरिवाना र ६ वर्ष कैद सजाय सुनाएको थियो ।

सरोजकी आमा जनक नन्दनीलाई भने अख्तियारले सफाइ दिएको थियो । अख्तियारले ८० लाख घुससँगै सम्वन्धित थप १ करोड ५ लाख घुसको प्रमाण पनि फेला पारेपछि बिहीबार घुस र दुवै प्रकरणसँग जोडिएको रकम शुद्धीकरण गरेकोमा सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको जनाएको छ ।

कोषका तत्कालीन योजना प्रमुख भट्टराईले आमा जनक नन्दनीका नाममा जिल्ला भक्तपुर साबिक गुण्डु गाबिस वडा नं। ३ मा घुसको रकम खर्चेर जग्गा किनेका थिए । कोषको निर्माण ठेक्का पाएका कम्पनीहरुबाट बिचौलिया प्रयोग गरी सरोजले जग्गा बिक्रेतालाई सिधै रकम भुक्तानी गराएर आमाका नाममा जग्गा किनेको खुलेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*