हेटाैँडामा वडास्तरीय टि–२० क्रिकेट प्रतियोगिता हुने
हेटाैँडा। मकवानपुरकाे हेटौडामा वडास्तरीय टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासंघ हेटौंडा उपमहानगरपालिका ८ नम्बर वडा कमिटीको आयोजना क्रिकेट प्रतियोगिता हुने भएको हाे ।
२९ भदौदेखि ५ असोजसम्म हेटौडा उपमहानगरपालिकाका वडास्तरीय टि–२० क्रिकेट प्रतियोगिता सञ्चालन गरिने आयोजकले शनिबार हेटौंडामा पत्रकार भेटघाट गरी जानकारी दिएकाे हाे । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका–८ नम्बर कमिटीको व्यवस्थापनमा क्रिकेट प्रतियोगिता गर्न लागिएको हो ।
‘खेलकुदको विकासको लागि स्थानीय तहदेखि केन्द्रसम्म भौतिक पूर्वाधार, व्यवसायीक र प्रतिस्पर्धा खेलकुद गतिविधि हाम्रो आधार’ भन्ने अभिप्रायले टि–२० क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगितका संयोजक धर्मराज पुडासैनीले जानकारी दिए । पुडासैनीकाे संयोजकत्वमा ३१ सदस्यीय क्रिकेट खेल सञ्चालन तथा व्यवस्थापन मूल समिति तथा अन्य ५ वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार रुपैंया पुरस्कार सहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् । द्वितीय हुने टिमले २५ हजार रुपैंया, शिल्ड र प्रमाण र पत्र वितरण प्राप्त गर्ने छन् । यस्तै, उत्कृष्ट पार्चपास गर्ने क्रिकेट टिमलाई विविध पुरस्कार र प्रमाणपत्र वितरण गरिने उनले बताए । उत्कृष्ट खेलाडी तथा लामो समय खेल क्षेत्रमा लागेका व्यक्तित्वलाई सम्मान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागिता जनाउने टिमले ५ हजार रुपैंया शुुल्क बुझाउनु पर्नेछ । हेटौंडा–८ कमानेमा रहेको चन्द्रोदय माध्यामिक विद्यालय खेल मैदानमा हुने प्रतियोगिताकाे लागि ३ लाख ५० हजार रुपैंया लाग्ने आयोजकको अनुमान रहेकाे छ । प्रतियोगिता हरेक वर्ष आयोजना गरिने बताइएकाे छ ।