अनियमित महिनावारीले ल्याउन सक्छ स्वास्थ्य जटिलता

डाक्टर डाेल्मा लामा
६ भाद्र २०८१, बिहीबार ०९:१३

काठमाडौं- सामान्यतयाः महिनावारीलाई २८ दिनको मासिक चक्र मानिन्छ। यदि कुनै महिलामा पछिल्लोपटक महिनावारी भएको ६ सातादेखि सोही क्रम पुनः नदोहोरिएको अवस्थामा भने त्यसलाई चिकित्सा क्षेत्रअन्तर्गत ‘मिस पिरियड’ अर्थात् अनियमित महिनावारी संज्ञा दिइन्छ।

हरेक महिलामा यो चक्र दोहोरिन्छ भन्‍न सकिँदैन। विभिन्‍न कारणले महिलाहरूमा अनियमित महिनावारी हुने गर्छ। कोही महिला ३-४ महिनाको फरकमा महिनावारी हुन्छन् भने कसै-कसैमा वर्षदिनभन्दा बढी भइसक्दा पनि महिनावारी भएको पाइँदैन।

अनियमित महिनावारी जुनसुकै उमेर समूहका महिलाहरूमा पनि हुन सक्छ। किशोरावस्थाबाटै पनि महिलामा अनियमित महिनावारी हुन सक्छ। शरीरमा हार्मोनको सन्तुलन नमिलेकै कारण किशोरावस्था भएका महिलामा अनियमित महिनावारीको समस्या देखापर्न थाल्छ।

महिनावारी अनियमिता आएमा हेलचेक्र्याइँ गरेर बस्‍नु हुँदैन। महिनावारी अनियमित हुने विभिन्‍न कारण हुन्छन्। के कारणले महिनावारी अनियमित भएको हो भन्‍ने जाँच गराउन आवश्यक छ।

रगतमा डिसअर्डर भएमा पनि अनियमित महिनावारी हुन थाल्छ। बच्चालाई जन्म दिएका महिलाले शिशूलाई स्तनपान गराउँदा पनि केही महिना महिनावारी रोकिन्छ। तर, जब महिला शिशूलाई जन्मदिएको ५-७ महिनापछि पहिलो महिनावारी हुन्छिन्, त्यतिबेला अन्य समयभन्दा बढी रगत बग्‍न थाल्छ। किनभने, त्यो समयमा पाठेघरको लाइनिङ मोटो भएको हुन्छ। त्यसकारण पनि बच्चा जन्मिएको केही महिनापछिको पहिलो महिनावारीमा बढी रगत बग्‍ने गर्छ।

डाक्टर डाेल्मा लामा

प्रायः ४० कटिसकेका महिलाहरूमा अनियमित महिनावारीको समस्या देखापर्न थाल्छ। त्यो समयमा हाम्रो शरीरको हार्मोनहरूको समाप्ति हुँदै जान्छ। यसमा पनि सबै महिलाको शरीरको हार्मोन स्ट्याटस एकनासको हुन्छ भन्‍ने हुँदैन। वंशाणुगत हिसाबले कसैको महिनावारी चाँडै त कसैको ढिलो सुक्ने सुक्छ।

महिनावारी सुकेपछि भिडियो एक्सरे थाइराइडको जाँच गर्नु आवश्यक छ।

पोलिस्टिक ओभरी, हार्मोनल गर्भनिरोधक औषधि सेवन, थाइराइड, पाठेघरमा मासु पलाउनु, तनाव, तौल बढ्नु वा घट्नु र रगतसम्बन्धी रोगका कारणले अनियमित महिनावारी हुने गर्छ।

पछिल्लो समय अविवाहित महिलाहरूमा पनि अनियमित महिनावारीको समस्या बढ्दै गएको छ। यसको मुख्य कारण पोलिस्टिक ओभरी हो। पोलिस्टिक ओभरी भनेको डिम्बासयमा स-साना पानीका फोकाहरू जम्मा हुनु हो।

त्यस्तो अवस्थाले कुनै हार्मोन ज्यादा त कुनै कम उत्पादन गराउँछ। हार्मोनको रेसियोमा तलमाथि हुने भएकाले नै अविवाहित महिलाहरूमा अनियमित महिनावारी हुने गर्छ। यति मात्रै होइन, थाइराइडमा गडबडी भएको अवस्थामा पनि महिनावारीमा अनियमितता आउँछ।

महिनावारी अनियमित हुँदा महिलामा अन्य प्रकारका स्वास्थ्य समस्या पनि देखिन्छन्। पोलिस्टिक ओभरीहरू छन् भने हार्मोनल फंक्सनहरू सबै अर्डर भएको हुन्छ, जसले मानिसको तौल बढाउने वा घटाउने काम गर्छ।

धेरै मोटा महिलाहरू छन् भने आफ्नै शरीरको कारणले महिनावारीमा गडबडी हुने गर्छ। पोलिस्टिक ओभरी भएका महिलाहरूमा डाइबिटिज हुने समस्या पनि देखापर्छ।

नियमित महिनावारीका लागि के गर्ने ?

मोटोपन पनि अनियमित महिनावारीको कारक तत्त्व भएकाले मोटापना भएका महिलाहरूले शारीरिक व्यायाममार्फत तौल घटाउन आवश्यक छ। साथै, सन्तुलित खानपानमा विशेष ध्यान दिनुपर्छ।

महिनावारी अनियमित भएमा औषधि सेवनबाट पनि नियमित गराउन सकिन्छ। अस्पताल आई जाँच गराएमा चिकित्सकले नियमित महिनावारीका लागि औषधि दिने गर्छन्। ती औषधिले हार्मोनलाई रेगुलर बनाइदिन्छन्।

अनियमित महिनावारीले महिलाहरूमा मानसिक तनाब बढाउँछ। कतिपय अवस्थामा अनियमित महिनावारी समस्या भएका महिलामा सन्तान जन्माउन गाह्रो हुनसक्ने भएकाले यसलाई बेवास्ता गर्नु हुँदैन। (नेपाली हेडलाइनबाट साभार गरिएकाे विचार)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*