हट्यो टिकटकमाथिको प्रतिबन्ध, अब भीपीएनकाे आवश्यकता नपर्ने

निरन्तर न्यूज
५ भाद्र २०८१, बुधबार २१:३९

काठमाडौं– नेपालमा भिडियो सेयरिङ एप टिकटकमाथिको प्रतिबन्ध हटेको छ।

बुधबार नेपालका सबै इन्टरनेट सर्भिस प्रोभाइडरहरूले टिकटकमाथि लगाएको प्रतिबन्ध आंशिक रुपमा हटाएका हुन्। चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे खुलाउने बारे सरकारसँग आग्रह गरेपछि सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको थियो।

टिकटकमाथिको प्रतिबन्ध परिक्षणका लागि आंशिक रुपमा हटाइएको एक इन्टरनेट सर्भिस प्रोभाइडरले बताए। उनले भने, ‘सरकारको निर्णयमा प्रतिबन्ध लागेको थियो। फेरि सरकारले खोल्न निर्देशन दिएकोले परिक्षणका लागि प्रतिबन्ध आंशिक रुपमा हटाइएको छ।’

२३ कात्तिक २०८० मा तत्कालिन पुष्पकमल दहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सामाजिक सञ्जाल नियमिन निर्देशिका ल्याएको थियो। उक्त निर्देशिकाले सामाजिक सञ्जालहरूले नेपालमा दर्ता भएर सम्पर्क कार्यालय राख्नुपर्ने व्यवस्था गरेको थियो। लगत्तै २७ कात्तिक ०८० मा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको आरोपमा मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो।

टिकटकमाथि प्रतिबन्ध लगाएपछि सरकारको आलोचना भएको थियो। भने चिनियाँ पक्षले नेपाल सरकारको निर्णय मान्ने सर्तमा प्रतिबन्ध खुलाउन आग्रह गर्दै आएको थियो।

टिकटक प्रतिबन्ध भएपछि प्रयोगकर्ताहरूले भीपीएन लगायका सफ्टवेयर प्रयोग गरेर टिकटक चलाउन थालेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*