आज गाइजात्रा मनाइँदै

निरन्तर न्यूज
४ भाद्र २०८१, मंगलवार ०८:४२

हेटौंडा । आज गाईजात्रा पर्वका अवसरमा बागमती प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । बागमती प्रदेश सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेको हो।

गत शुक्रबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले आज गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो। आज प्रदेशका सामुदायिक विद्यालय, संस्थागत विद्यालय, वित्तिय संघसंस्थालगायत सरकारी कार्यालयहरु बन्द रहने भएको छ ।

आज गाईजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाउने गरिन्छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने गरिन्छ ।

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि दिवङ्गत भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरू भएको ऐतिहासिक तथ्य छ ।

यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गर्ने गरिएको हुँदा हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने मान्यता छ । काठमाण्डौ उपत्यकासहित नेवार समुदाय रहेका देशका विभिन्न ठाउँमा आज गाईजात्राको विशेष रौनक हुन्छ ।

गाईजात्रा पर्व काठमाण्डौ उपत्यकाका साथै बनेपा, धुलिखेल, पनौती, बाहबीसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरा, पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत नेवार समुदायकाको विशेष उपस्थिति रहेका शहरमा धुमधामका साथ मनाइन्छ ।

यस अवसरमा हास्य कलाकारले पनि विशेष कार्यक्रमको आयोजना गर्ने गरेका छन् । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यो पर्वमा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*