पदक जितेकालाई २ वर्षपछि पुरस्कार दिने तयारीमा बागमती सरकार

निरन्तर न्यूज
३२ श्रावण २०८१, शुक्रबार ११:५६

हेटौंडा । नवौं रष्ट्रिय खेलकुद प्रतियोगितामा बागमतीबाट प्रतिनिधित्व गर्दै पदक जितेका खेलाडिहरुले प्रदेश सरकारको तर्फबाट प्रोत्साहन स्वरुप नगदसहित पुरस्कार पाउने भएका छन् ।

२०७९ असोज २८ देखि कार्तिक ३ सम्म गण्डकी प्रदेशमा भएको प्रतियोगितामा विभिन्न पदक जितेका खेलाडीहरुलाई नगदसहित पुरस्कृत गर्ने तयारीका साथ काम भइरहेको युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न भएपश्चात् तत्कालिन खेलकुदमन्त्री रन्तप्रसाद ढकालले पदक प्राप्त खेलाडिहरुलाई नगदसहित पुरस्कृत गर्ने घोषणा गरेको भएतापनि हालसम्म सो पुरस्कार वितरण भएको थिएन । घोषणा भएको २ वर्षपछि नवनियुक्त मन्त्री महर्जनले पुरस्कार वितरणको लागि तयारी तीब्र पारिएको जानकारी दिए ।

‘त्यतिबेला मन्त्रालयले रकम माग गर्दा त्रुटि भएको रहेछ । अर्थ मन्त्रालयले आवश्यक भन्दा बढी रकम मागियो भनेर सहमति नदिएपछि मन्त्रिपरिषद् बैठकमै लैजान समस्या भएको रहेछ । अर्थमन्त्रीज्यू र मुख्यमन्त्रीज्यूसँग कुराकानी भयो, उहाँहरु पूर्ण रुपमा सकारात्मक हुनुहुन्छ । हामी १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता भन्दा अगावै खेलाडिहरुलाई पुरस्कार बाँड्छौँ ।’ मन्त्री महर्जनले भने ।

उनले आफु पनि खेलकुद क्षेत्रकै व्यक्ति भएकाले खेलाडिको मर्का बुझ्दै पुरस्कार वितरण कार्यलाई तीब्रता दिइएको बताए । लगानी बढाउँदै खेलकुद पूर्वाधारको विकास र खेलाडिको हितका लागि मन्त्रालयले तीब्रताका साथ काम गर्ने उनले बताए ।

अघिल्लो आर्थिक वर्षमा खेलकुद मन्त्रालयले पुरस्कार वितरणको लागि २ करोड २४ लाख रुपैयाँको लागि अर्थ मन्त्रालयसँग सहमति मागेको भएता पनि सहमति नआउँदा त्यतिबेला पुरस्कार वितरण गर्न नसकिएको मन्त्रालयका सचिव रुद्रप्रसाद लामिछानेले बताए ।

मन्त्रालयले स्वर्ण विजेता खेलाडीलाई जनही १ लाख, रजत विजेता खेलाडीलाई जनही ७५ हजार र कास्य पदक विजेता खेलाडीलाई जनही ५० हजार रुपैयाँ सहित सम्मान गर्ने निर्णय गरेको थियो ।

आजै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले उक्त प्रतियोगिताको पुरस्कार खेलाडिहरुलाई प्रदान गर्न भन्दै मन्त्री मजर्हनको ध्यानाकर्षण गराएको थियो । संघका केन्द्रीय सदस्य अजित गुरुङको नेतृत्वको समूहले खेलाडीहरुलाई निराश बनाउन नहुने पुरस्कार वितरण गर्न अनुरोध गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*