थाइल्याण्डका प्रधानमन्त्री बर्खास्त

काठमाडौं । थाइल्याण्डको संवैधानिक अदालतलले प्रधानमन्त्री स्रेथा थबिसिनलाई बर्खास्त गरेको छ । जेल बसेका एक वकिललाई मन्त्रिपरिषद्मा सामेल गरेको अभियोगमा अदालतले प्रधानमन्त्रीलाई नै बर्खास्त गरेको हो ।
६७ वर्षीय थबिसिनले नैकितकताका नियम उल्लंघन गर्नुका साथै अवज्ञापूर्ण व्यवहार गरेको अदालतको ठहर छ । उनी पछिल्लो १६ वर्षमा संवैधानिक अदालतले हटाएका तेस्रो प्रधनमन्त्री हुन् । उनी एक वर्षभन्दा पनि कम समय प्रधानमन्त्री पदमा रहे ।
थविसिन अगष्ट २०२३ मा मात्र प्रधानमन्त्री बनेका थिए र, थाइल्याण्डमा ९ वर्षदेखि चलिरहेको सैन्य प्रभुत्व भएको सरकार अन्त्य भएको थियो ।
अदालतको फैसलाले थाइल्याण्डमा राजनीतिक अस्थिरताको आशंका बढेको छ । धेरैले यसलाई राजनीतिक फैसला भनेका छन् । प्रधानमन्त्री थविसिनले २७ अप्रिलमा वकिल समेत रहेका सिनेटर पिचित चुएनबनलाई प्राधनमन्त्री कार्यालयको मन्त्री नियुक्त गरेका थिए ।
विगतमा घुस लिने प्रयास गरेको आरोपमा ६ महिनाको सजाय सुनाइएका उनलाई मन्त्री बनाएपछि प्रधानमन्त्री थविसिनलाई पदमुक्त गर्न माग गर्दै करिब ४० सिनेटर अदालत गएका थिए । तर चुएनबनले १९ दिनमै पद छाडे ।तर बुधबार नौ न्यायाधीश मध्ये ५ जनाले चुएनबनलाई मन्त्री नियुक्त गरेर नैतिकताको उल्लंघन गरेको अभियोगमा प्रधानमन्त्रीलाई नै बर्खास्त गरे ।
अदालतको फैसला आएपछि पत्रकार सम्मेलन गर्दै थविसिनले भने, ‘मलाई खेद छ, तर यो भनिरहेको छैन कि अदालतको फैसलासँग असहमत छु ।’ संवैधानिक अदालतको फैसला अन्तिम हुनेछ । र यसविरुद्ध पुनरावेदन लाग्ने छैन । अब संसदमा गोप्य मतदानमार्फत् नयाँ प्रधानमन्त्री चयन गरिनेछ ।