अष्ट्रेलियाको राजदूतमा सिफारिस कान्ताको नाम सूचीबाटै गायब !

निरन्तर न्यूज
२९ श्रावण २०८१, मंगलवार २०:५७

काठमाडौं । गत साउन १४ गतेको मन्त्रिपरिषद बैठकले विभिन्न १८ मुलुकमा राजदूत प्रस्ताव गरेको भएपनि एक जनाको नाम परराष्ट्र मन्त्रालय र संसद् सचिवालयमा नपठाइएको खुलासा भएको छ ।

सोही कारण संसदीय सुनुवाइ समितिले १७ देशका लागि प्रस्तावित राजदूतको मात्र सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ ।समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा आज मंगलबार भएको बैठकले प्रस्तावित राजदूतका सम्बन्धमा १० दिनभित्र सार्वजनिक सूचनामार्फत उजुरी आह्वान गर्ने निर्णयसमेत गरेको छ ।

अष्ट्रेलियाको राजदूतमा सिफारिस कान्ता रिजालको नाम संसदीय सुनुवाइका लागि संसद् सचिवालयमा नपुगेकाले समितिले १७ देशका लागि प्रस्तावित राजदूतको मात्र सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको हो ।

साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दैै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अष्ट्रेलियाको राजदूतमा कान्ता रिजाललाई सिफारिस गरिएको जनाएका पनि थिए । सरकारको निर्णय लिखित रूपमा सार्वजनिक गर्दा पनि कान्ताको नाम दोस्रो नम्बरमा लेखिएको थियो ।

तर, मंगलबार सुनुवाइ समितिले राजदूतको सुनुवाइ अगाडि बढाउन लाग्दा सिफारिस राजदूतको सूचीमा कान्ताको नाम नभेटिएपछि हल्लिखल्ली नै मच्चियो । आफ्नो नाम नभेटिएपछि प्रस्तावित राजदूत रिजाल मंगलबार परराष्ट्र मन्त्रालयमै पुगिन् । तर परराष्ट्रमा पुग्दा पनि उनको नाम भेटिएन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले परराष्ट्र मन्त्रालयलाई पठाएको प्रस्तावित राजदूतको सूचीमा कान्ताको नाम थिएन । परराष्ट्र पुगेको पत्रमा १७ जनाको मात्रै नाम थियो । परराष्ट्र मन्त्रालयमा पठाइएको पत्रमा उनको नाम काटिएको थियो ।

कान्ता यसअघि इजरायलको राजदूत थिइन् । इजरायलमा हुँदा उनी गणतन्त्र साइप्रसका लागि गैरआवासी नेपाली राजदूत पनि थिइन् ।रिजाल पुराना कांग्रेस नेता तथा नेपाली कांग्रेस पाँचथरका पूर्व जिल्ला सभापति एवं २०१५ सालका सांसद गणेश रिजालकी छोरी हुन् । कान्ता स्वयं पनि लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय छिन् । रिजाल पहिलो संविधानसभा निर्वाचनमा कांग्रेसको तर्फबाट समानुपातिक तर्फको उम्मेदवार थिइन् ।

साउन १४ गतेको मन्त्रिपरिषद बैठकले डा शंकरप्रसाद शर्मा (भारत), कान्ता रिजाल (अष्ट्रेलिया) प्राडा कृष्णप्रसाद ओली (चीन), लोकदर्शन रेग्मी (संयुक्त राज्य अमेरिका), चन्द्रकुमार घिमिरे (संयुक्त अधिराज्य), डा शिवमाया तुम्बाहाम्फे (दक्षिण कोरिया), प्रा धनप्रसाद पण्डित (इजरायल), रामकृष्ण भट्टराई (श्रीलंका)र रीता धिताललाई (पाकिस्तान) का निम्ति आवासीय नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

सरकारले नरेशविक्रम ढकाल (साउदी अरेबिया), प्राडा कपिलमान श्रेष्ठ (दक्षिण अफ्रिका), सनिल नेपाल (स्पेन), डा.शैल रुपाखेती (जर्मनी), जंगबहादुर चौहान (रुसी महासंघ), रमेशचन्द्र पौडेल (कतार), सुम्निमा तुलाधर (डेनमार्क), डा .नेत्रप्रसाद तिमिल्सिना (मलेसिया)र प्रकाशमणि पोखरेललाई (पोर्चुगल)लाई सिफारिस गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*