हेटाैँडा उपमहानगरकाे करबृद्धिकाे विराेधमा व्यवसायीहरुले आन्दाेलन गर्ने

निरन्तर न्यूज
२९ श्रावण २०८१, मंगलवार ०७:५३

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले गरेको कर वृद्धिकाे विरोध गर्दै मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको कार्यक्रम सार्वजिनक गरेको छ।

मउवासंघले साेमबार व्यवसायिक भेला एवं पत्रकार सम्मेलन गर्दै ५ दिने चरणवद्व आन्दोलनकाे कार्यक्रम सार्वजनिक गरेकाे हाे । संघ अध्यक्ष कृष्ण कुमार गुप्ताले लामो समयदेखि व्यवसाय गर्दै आएका व्यवसायीहरुका कारोवार शिथिलता आएकाे अवस्थामा करको दर बढाएकाेले आन्दाेलनकाे कार्यक्रम सार्वजनिक गरिएकाे बताए ।

व्यावसायमा आएकाे मन्दीका कारण व्यवसायीहरु निरास छन्,कोही व्यवसाय छाडेर पलायन भइसकेका छन् र कोही ऋणमा रहेकाे अवस्थामा करवृद्धि गरिएकाेले संघ आन्दाेलनमा उत्रिन बाध्य भएकाे उनले जानकारी दिए ।

बजारका कवल, सटरहरु खाली देखिन थालेको अवस्था र समग्रमा उद्योग/व्यवसाय धरासायी भएको अवस्थामा उपमहानगरपालिकाले करकाे दर बढाएकाे अवस्थामा भविष्यमा झन ठूलो आर्थिक संकटको सामना गर्नुपर्ने त हैन भन्ने पूर्व संकेतको संशय पैदा भएको उनले बताए ।

‘उपमहानगरपालिकाकाे राजश्व परामर्श समितिमा समेत विद्यमान आर्थिक प्रभावलाई मध्यनजर गरी चालु आर्थिक वर्ष २०८१/८२ मा पालिकाको राजश्व दर बृद्धि नगर्ने निर्णय गरेकाे थियाे’ उनले भने ‘समितिको निर्णयलाई बेवास्ता गर्दै नगरसभाबाट राजश्व दरमा अनाधिकृत रुपमा व्यापक बृद्धि गरि सर्वसाधारण, आम उपभोक्ता, घरधनी, निमार्ण व्यवसायी, होटल व्यवसायी, व्यापारी तथा सहकारीकर्मीहरुलाइ थप पीडित धरासयी बनाउन खोजेको छ ।’

संघकाे विज्ञप्तिमा भनिएकाे छ ‘विद्यमान आर्थिक निरासा र उद्योगी व्यवसायीहरुको पीडालाई मध्यनजर गर्दै हाल गरिएको उल्लेखित १५० प्रतिशतसम्मको अस्वभाविक बृद्धि समय सान्दर्भिक नभएको सवै क्षेत्रमा वडेको कर तत्काल घटाइ यथास्थितीमा कायम गर्न माग गरेको छ।’

हेटौडा उपमहानगरपालिका समक्ष पटक पटक लिखित मौखिक माग गरि एकपक्षीय रुपमा करको दर परिवर्तन नगरी यथास्थितीमा राख्न गरिएको माग सुनुवाइ नभएको कारणले आन्दोलनमा जान वाध्य भएको अध्यक्ष गुप्ताले जानकारी दिए ।

चरणवद्व आन्दोलनको आज पहिलो दिन २८ श्रावणमा बस्तुगत संघका अध्यक्षहरु तथा विभिन्न राजनीतिक दल निकटका व्यापार व्यवसाय संग सम्बन्धित भातृसंगठन, सहकारी संघ संस्थाका प्रतिनिधिहरुसँग आन्दोलनको विषयमा छलफल तथा पत्रकार सम्मेलन मार्फत कार्यक्रमको जानकारी दिएको थियो।

२९ श्रावणमा कर अवज्ञाको विषयमा आम सर्वसाधारणलाइ कर नतिर्नको आव्हान गर्दै माइकिङ्ग गर्ने तथा प्रचार प्रसार गर्ने गराउने र विभिन्न संघ संस्था, प्रदेश सरकार, राजनैतिक दलका प्रतिनिधी, प्रमुख जिल्ला अधिकारी मार्फत संघीय सरकारमा ज्ञापन पत्र बुझाउ तथा विभिन्न क्षेत्र संग अन्तर्कृया गरिने छ ।

३० श्रावणमा बुद्धचोक, मउवासंघ चोक लगायतका स्थानमा हस्ताक्षर संकलन, १ घन्टा हेटौडा उपमहानगरमा शान्तिपूर्ण धर्ना/विरोध स्वरुप विभिन स्थानमा कालो व्यानर राखी नगरले गरेको कर वृद्धिको विरोध गरिने भएकाे छ। यसैगरी श्रावण ३१ गते हेटौडा नगरपालिकामा २ घन्टा शान्तिपूर्ण धर्ना, व्यापार व्यवसायी विरोधी हेटौडा नगर सरकार खोज्दै मैनबत्ती जुलुस गरिने संघले प्रकाशित गरेकाे विज्ञप्तिमा उल्लेख छ।

श्रावण ३२ गते हेटौडा नगरमा विरोध याली सहित आआफ्‌नो व्यापार व्यवसाय स्व स्फुर्त बन्द गरि हेटौडा उपमहानगरमा चाबी बुझाउदै नगरपालिक परिषरमा कोण सभा गरि पहिलो चरणका कार्यक्रम समापन गरिने भएकाे छ ।

आन्दोलनका कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन हरेक दिन फरक फरक पदाधिकारीलाई संयोजक ताेकिएकाे संघले जनाएकाे छ । उपमहानगरलाई चावी हस्तान्तरण पश्चात नगरले गरेको विभिन्न कर वृद्धिको बिरोधमा सामुहिक मुद्दा दर्ता गराउने समेत बताइएकाे छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु