खेलकुद मन्त्रीद्वारा निर्माणाधिन गौरिटार रंगशालाको स्थलगत अनुगमन

निरन्तर न्यूज
२९ श्रावण २०८१, मंगलवार ०७:३६

बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले हेटौंडा–६ गौरिटार रंगशालामा निर्माणाधिन पूर्वाधारको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् ।

महर्जनले सोमबार विहान मन्त्री रंगशाला परिसरमा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रंगशाला, पौडी पोखरी र फुटबल रंगशालालगायतका पूर्वाधारहरुको निरिक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा मन्त्री महर्जनले देशकै दोस्रो ठूलो रंगशाला बन्न लागेको भन्दै निर्माण कार्यलाई समयभित्रै सम्पन्न गर्न सम्बन्धित सबैलाई निर्देशन दिए । उनले निर्माणको क्रममा त्यसको गुणस्तरलाई विशेष ध्यान दिन निर्माण व्यवसायी कम्पनी, इन्जिनियर तथा प्राविधिकहरुलाई आग्रह गरेका छन् ।

गौरीटार परिसरमा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी पौडी पोखरी निर्माण पनि भइरहेको छ । प्रदेश सरकारको ९ करोडको लागतमा २ वटा पौडी पोखरी निर्माणको काम भइरहेको छ । एउटा पोखरी अभ्यास र अर्को प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरी निर्माण गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेश खेलकुद परिषदका अनुसार गौरीटार रंगशालाको गुरुयोजना अनुसार कुल २१ वटा संरचना बनाउन लागिएको हो । साढे ५ अर्ब बजेटको गुरुयोजना अनुसार रंगशालाभित्र ९ वटा कभर्डहल, ८ वटा ट्रेनिङ सेन्टर, फिटनेस सेन्टर, होस्टेललगायतका संरचना गरी २१ वटा संरचना बन्नेछ ।

प्रदेश सरकारले कूल ५ अर्ब रुपैयाँ लगानीमा २१ वटा संरचना बनाउन लागेको हो । फुटबल रंगशाला निर्माणको काम भने लगभग अन्तिम चरणमा पुगेको प्रदेश खेलकुद परिषदले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु