सुरक्षा माग्दै बंगलादेशका हिन्दुहरु विरोधमा उत्रिए
काठमाडौं । बंगलादेशको राजधानी ढाकाको शाहबाग क्षेत्रमा हिन्दु समुदायमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन भएको छ ।
शुक्रबार दिउँसो हजारौँ हिन्दुले शाहबागमा प्रदर्शन गरेका बीबीसी बांग्लाले जनाएकाे छ। प्रदर्शनकारीले बंगलादेशका विभिन्न भागमा हिन्दुका घर र अन्य सम्पत्तिमा आक्रमण भएकोमा विरोध गरे ।
आन्दोलनरत संगठनहरूले हिन्दु समुदायको सुरक्षाको माग गरेका छन्।जातीय हिन्दु महाजोतलगायत सनातन धर्मका विभिन्न संघसंस्थाले आज (शनिबार) दिउँसो ३ बजेका लागि सोही स्थानमा अर्को जुलुसको आह्वान गरेका छन्।
बंगलादेश हिन्दु बौद्ध क्रिश्चियन एकता परिषद्का अनुसार अगस्ट ५ पछिका ३ दिनमा बंगलादेशका खुलना, बागेरहाट, पटुआखाली, शरियतपुर, फरीदपुरलगायत कम्तीमा २९ जिल्लामा अल्पसंख्यक समुदायका घर, व्यवसाय र पूजास्थलमा तोडफोड र लुटपाट भएका छन्।
बंगलादेशको पत्रिका द डेलिस्टारले ५२ जिल्लामा हिन्दुमाथि २०५ वटा आक्रमणका घटना भएको समाचारमा उल्लेख गरेको छ ।
संगठनहरूले हिन्दु समुदायविरुद्ध भएका यी आक्रमणमा धेरै मानिस घाइते भएको बताएका छन्।स्वतन्त्रता सेनानीका सन्तानलाई सरकारी जागिरमा दिने गरिएको आरक्षणको विरोधमा भइरहेको विद्यार्थी आन्दोलनले उग्र रूप लिएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिँदै शेख हसिना देशै छाडेर भागेकी छन्। त्यसपछि बिहीबार मात्र त्यहाँ नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री महम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । फोटो : द डेलिस्टार