एमालेबाट हटाइएपछि मणी थापा के भन्छन् (अन्तरवार्ता)

निरन्तर न्यूज
१९ श्रावण २०८१, शनिबार २०:३४

काठमाडौं । मणि थापा माओवादी लीगेसी भएका नेता हुन्, जो माओवादी सशस्त्र जनयुद्धसमेत लडे । तर, पछिल्लो समय उनी माओवादीमा थिएनन्, एमालेमा थिए ।

२०७४ सालमा एमाले र माओवादी मिलेर बनेको नेकपा २०७७ सालमा पूर्ववत् अवस्थामै फर्किँदा उनी एमाले कित्तामै रहे र खानेपानीमन्त्री बने ।

त्यसबीचमा एमालेको दशौं (सौराहा) महाधिवेशन भयो, त्यसयता उनी एमाले स्थायी कमिटी सदस्यका रूपमा थिए ।

तर, त्यसलगत्तै उनी निष्क्रिय हुँदै गए । केही समयका लागि बिदा लिएका उनले पछि अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा नै बुझाए । तर, स्वीकृत भने भएको थिएन ।

तर, गत बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले भने उनको राजीनामा स्वीकृत गर्‍यो । यससँगै थापा पदमुक्त भएका छन् ।

अब उनले आफ्नो स्कूलिङ र लीगेसीतिर फर्किने बताएका छन् । अबको उनको राजनीतिक जीवनबारे हामीले केही प्रश्न सोधेका छौँ । प्रस्तुत छ, सम्पादित अंश ।

एमालेले तपाईंलाई पदमुक्त गर्‍यो, यसलाई कसरी लिनुभएको छ ?

स्वागत गर्दछु, यो मेरै चाहनाअनुसार भएको हो । मैले यही चाहेको थिएँ, मैले त १ वर्षअगाडि नै राजीनामा दिएको हुँ । तर, स्वीकृतचाहिँ ढिलो भयो । पहिल्यै हुनुपर्थ्यो ।

तर, तपाईं त महत्त्वपूर्ण जिम्मेवारीमा हुनुहुन्थ्यो नि? किन छाड्नुभयो एमाले ?

हो, मलाई स्थायी कमिटीमा राखिएको थियो । तर, म आफ्नै खुसीले त्यसबाट टाढा भएको हुँ । यो कसैको चाहनाले होइन ।

किन, एमालेमा तपाईंलाई बस्न मन भएन ?

त्यस्तो केही होइन, आफ्नै स्कूलिङको रक्षा गरौँ भन्ने लागेको छ । त्यही गर्छु । त्यसकै लागि त्यहाँबाट निस्केको पनि हुँ ।

स्कूलिङ भन्नाले… ?

नेपालको कम्युनिष्ट आन्दोलनको कुरा गरेको मैले, लीगेसीको कुरा गरेको । अब आफ्नै स्कूलिङ र लीगेसीको रक्षाका लागि राजनीति गर्छु ।

पार्टीगत कुरा गर्नुपर्दा नि ?

पार्टीको कुरा अहिल्यै म गर्दिनँ ।

तपाईं पुन: माओवादीमा फर्किने हो ?

मैले भनिहालेँ, अहिल्यै यो कुरामा प्रवेश गर्दिनँ । टुङ्गो लागिसकेको अवस्था पनि होइन । केही समयमा निर्णय लिन्छु, तपाईंहरूले थाहा पाइहाल्नुहुन्छ ।

अब स्कूलिङ र लीगेसीको कुरा गर्नुहुन्छ, फेरि एमाले; जुन कम्युनिष्ट पार्टी नै हो त्यो छाड्नुभयो, यसो हुँदा कि तपाईं पुन: माओवादीतिरै फर्कनुपर्‍यो, कि आफैँ पार्टी बनाउनुपर्‍यो कि त अरु सानै कम्युनिष्ट पार्टीतिर जानुपर्‍यो ? के गर्ने हो ?

आफैँले पार्टी बनाउने कुरा त भएन, त्यसो गर्दिनँ । अरु सानो पार्टीतिर जाने कुरा पनि नहोला । उपयुक्त निर्णय लिन्छु । तपाईंहरूले थाहा पाइहाल्नुहुन्छ ।

त्यसोभए तपाईं पुन: माओवादी फर्किने तपाईं ?

निर्णय लिइसकेको छैन । जे पनि हुनसक्छ ।

तपाईं राजनीतिबाटै टाढा हुने त होइन नि ?

होइन, राजनीति नै गर्ने हो । स्कूलिङ र लीगेसीको कुरा मैले गरिसकेँ ।

नेपाल भ्यूजका लागि धनवल राइले लिनुभएकाे अन्तरवार्ता साभार गरिएकाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*