उच्च अदालत पाटन हेटौंडा इजलासमा १ वर्ष नाघेका मुद्दा शून्य
हेटौंडा । उच्च अदालत पाटन हेटौंडा इजलासमा १ वर्ष र २ वर्ष नाघेका मुद्दा शून्य रहेको छ । अघिल्लो आवको भन्दा गत आवमा झन्डै २ प्रतिशत मुद्दा बढी फर्स्यौट गरिएको छ ।
आव ०८०र०८१ मा जिम्मेवारी सरेर आएकोसहित हेटौंडा इजलासमा १ हजार ६ सय १९ मुद्दा थिए । तीमध्ये १ हजार ३ सय ४५ अर्थात ७७ प्रतिशत मुद्दा फर्स्यौट भएको उच्च अदालत पाटन हेटौंडा इजलासले जनाएको छ ।
अघिल्लो आवमा १ हजार ७ सय ४१ मुद्दा दर्ता भएकामा १ हजार ३ सय १२ थान मुद्दा अर्थात ७५ दशमलव ३६ प्रतिशत फर्स्यौट गरिएको थियो । हेटौंडा इजलासमा न्यायाधीशको सात दरबन्दी रहेको छ । सातै जना न्यायाधीश महिला छन् ।
यसैगरी जिल्ला अदालत मकवानपुरले ५८ प्रतिशत मुद्दा फर्स्यौट गरेको छ । मुद्दा फर्स्यौट गत वर्षको भन्दा ३ प्रतिशत कम छ । गत आवमा जिम्मेवारी सरेर आएकासहित ३८ सय ४१ मुद्दा दर्ता भएका थिए । तीमध्ये २२ सय ७३ मुद्दा फर्स्यौट गरिएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।
अघिल्लो आवमा ६१ प्रतिशत मुद्दा फर्स्यौट गरिएको थियो । आव ०८०र०८१ म मुद्दा दर्ता हुने संख्या नै अघिल्लो आवको भन्दा ५ सय १४ थान बढी भएको थियो भने न्यायाधीशको दरबन्दी पनि चारबाट घटेर तीन जनामा सिमित गरिएको थियो ।
अघिल्लो आवको भन्दा गत आवमा मुद्दा दर्ता हुने संख्या बढी र न्यायाधीशको दरबन्दी पनि कटौती भएकाले मुद्दाको फर्स्यौट प्रतिशतमा कमी आएको दाबी अदालतले गरेको छ ।
जिल्ला अदालत मकवानपुरमा २ वर्षसम्मका ४१ वटा र २ वर्ष नाघेका २२ वटा मुद्दा फर्स्यौट हुन बाँकी छन । जिल्ला अदालत मकवानपुरमा तीनै जना महिला न्यायाधीश रहेका छन् । कान्तिपुरबाट ।