आज देशभरका अदालत विदा

काठमाण्डौँ । पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा सर्वाेच्च अदालतको पूर्ण बैठकले आइतबार देशभरका सबै अदालत विदा दिने निर्णय गरेको छ । खत्रीको बुधबार निधन भएको थियो ।
सर्वाेच्च अदलतका मुख्य रजिष्ट्रार नृतपध्वज निरौलाले शनिबार जारी गरेको विज्ञप्तीमा खत्रीको असामयिक निधनबाट न्याय, कानून र मानव अधिकारको क्षेत्रमा अपूरणीय क्षति पुगेको उल्लेख छ ।
सर्वोच्च अदालतको न्यायाधीश र प्रधान न्यायाधीशको रुपमा लामो समयसम्म सेवारत खत्रीले स्वतन्त्र न्यायपालिकाको मूल्य र मान्यतालाई स्थापित गर्दै समग्र न्यायपालिकाको श्रीवृद्धिका लागि अतुलनीय योगदान पुर्याएको सर्वाेच्चद्वा जारी विज्ञप्तीमा छ । खत्री २०३३ सालमा प्रधानन्यायधीमा नियुक्त भई २०४२ सालमा सेवानिवृत्त भएका थिए ।
खत्रीको निधनमा शोक प्रकट गर्न आइतबार नेपाल भरका जिल्ला अदालत, उच्च अदालत, सर्वोच्च अदालत, विशेष अदालत तथा न्यायाधिकरणहरू शोक विदाको रूपमा बन्द रहने विज्ञप्तीमा जनाइएको छ ।
खत्री प्रेस काउन्सिलका पूर्व अध्यक्ष पनि हुन् । खत्री वि.सं. २०३१/२०३२ मा काउन्सिल अध्यक्ष बनेका थिए ।