बंगलादेशमा आन्दोलन चर्किएपछि स्वदेश फर्किए नेपाली विद्यार्थी

निरन्तर न्यूज
७ श्रावण २०८१, सोमबार ०८:२१

काठमाडौं । आरक्षण कोटाको विरोधमा आन्दोलन चर्किएपछि बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएका छन्।आइतबार बिहान उनीहरू त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन्। अहिलेसम्म करिव ८ सय विद्यार्थी विमानस्थल र स्थलमार्ग हुँदै स्वदेश फर्किएको सरकारले बताएको छ।

बंगलादेशमा जारी आन्दोलनका कारण ३५ जना भन्दा बढीको मृत्यु भइसकेको छ। बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण समस्या उत्पन्न भएको हो। आन्दोलन थप भड्किएपछि बंगलादेश सरकारले शनिवारदेखि नै कर्फ्यू आदेश जारी गरेको छ।

बंगलादेशमा रहेका अन्य नेपालीहरुलाई सुरक्षित स्थानमा रहन र बाहिर ननिस्किन आग्रह गरिएको छ।बंगलादेशबाट आज नेपाल फर्किएकी विद्यार्थी सदीक्षा बस्नेतले आफूहरू एमबिबिएस पढ्न ३ महिनाअघि मात्रै गएको बताइन्।
उनले अहिले बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि देश छोडेर स्पेन भागेको खबर पाएको बताइन्।त्यस्तै, अर्का दुई विद्यार्थीले आफूहरुकै छेउछाउमा मानिसहरू मरिरहेको जानकारी पाएपछि आफूहरू त्रस्त बनेको बताए। उनीहरूले आफूहरूलाई एम्बेसीको सवारीसाधनले विमानस्थलसम्म छोडेको बताए ।त्यस्तै, अर्की विद्यार्थी आदना सुवेदीले एम्बेसीले स्वदेश फर्काउन कुनै सहयोग नगरेको भन्दै आक्रोश व्यक्त गरिन्।

उनले फोन गर्दासमेत बंगलादेशस्थित नेपाली दूतावासले नउठाएको बताइन्। परराष्ट्र मन्त्रालयले एक सूचना जारी गर्दै बङ्गलादेशमा रहनुभएका नेपाली विद्यार्थीहरू सम्बन्धमा अनलाइन निवेदन दिन अभिभावकसँग अनुरोध गरेको छ । —न्युज एजेन्सी नेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*