शैक्षिक कन्सल्टेन्सी इजाजत नभए शिल हुन्छ : प्रजिअ तामाङ

निरन्तर न्यूज
१० जेष्ठ २०७६, शुक्रबार १५:३१

हेटौँडा । हेटौँडामा नियम विपरीत खोलीएका ट्युसन सेन्टर, कल्सल्टेन्सी र कोचिङ सेन्टर सञ्चालनको इजाजत पत्र नभए शिल गर्ने मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

केही दिनदेखि अनुगमन गर्दै आएको समितिले इजाजत नभएका त्यस्ता सेन्टरहरु मध्ये सेन्ट्रम र अक्स्फोर्ड कन्सल्टेन्सीमा शिल गरिसकेकोछ । साथै विना इजाजत सन्चालन गरेको आईटेक यूनिभ प्लसमा भने अधिकांश सन्चालकहरु जम्मा भई अनुगमन समितिका सदस्य र सन्चारकर्मीमाथि अपशब्द बोली दुर्व्यवहार गरेपछि आज प्रजिअ कार्यकक्षमा छलफल चलेको थियो । छलफलमा आईटेक युनिभलाई कडा कारवाही गरिने प्रजिअ तामाङले बताए ।

छलफलमा अनुगमन समितिका संयोजक शिक्षा विकास तथा समन्वय एकाई प्रमुख लिलानाथ गौतमलाई प्रजिअले सहजिकरण होइन एक्शन जानको लागि कडा निर्देशन दिएका छन् । प्रजिअ तामाङले संघीय शिक्षा मन्त्रालय तथा प्रदेशको सामाजिक विकास मन्त्रालयमा दर्ता भई अनुमित पत्र लिएका बाहेकका कन्सल्टेन्सीलाई स्थलगत शिल गर्न समेत गौतमलाई निर्देशन दिए ।

३ नम्बर प्रदेशमा यस्ता कन्सल्टेन्सीहरु ७ वटा मात्र रहेको र त्यसमध्ये हेटौँडामा २ वटामात्र रहेको सामाजिक विकास मन्त्रालय श्रोतले जानकारी दिएको छ ।

अनाधिकृतरुपमा विभिन्न विश्वविद्यालयको अनुमति प्राप्त भनेर लेखिएको साइनबोर्ड राख्ने तथा विभिन्न कोर्सको नाममा विद्यार्थीसँग अनावश्यक रकम असुल्ने र अनुगमनमा वाधा पुर्याउने विरुद्ध सख्त कारवाही गरिने समितिले जनाएको छ ।

अनुगमनमा वाधा पुर्याउन खोज्ने तथा गालिगलौज गरेमा तुरुन्तै एक्शन लिने प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु