आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष हुने : अर्थमन्त्री पुन:

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारको निरन्तर प्रयासबाट मुलुकको अर्थतन्त्र सुधार हुँदै गएको दाबी गरेका छन् ।
मंगलबार संसदमा आर्थिक वर्ष २०८१–०८२ को बजेट पेस गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन्। उनले सरकारले अर्थतन्त्रमा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्दै आम नागरिकमा आत्मविश्वास र आशा जगाउने दस्तावेजको रुपमा बजेट प्रस्तुत गरेको बताए।
‘सुखी नेपाली समृद्ध नेपाल’को राष्ट्रिय आकांक्षा पूरा गर्न आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेको बताए।
बजेटका ५ वटा उद्देश्य
अर्थमन्त्री वर्षमान पुनले संसदमा बजेट पेश गर्दै यसका ५ उद्देश्य रहेको जनाएका छन् । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उनले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नु, नीति क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु र आर्थिक क्रियाकलाप तीव्रता ल्याउनु बजेटको उद्देश्य रहेको बताए । यस्तै मानव संसाधनको विकास गर्नु, स्रोत र साधनको समन्यायिक ढंगले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्नु र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु भएको उनले बताए ।