हेटाैँडामा पत्रकार भट्टराईसहित विभिन्न श्रष्टा सम्मानित

निरन्तर न्यूज
२२ बैशाख २०८१, शनिबार २२:१४

हेटौँडा । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालद्वारा स्थापित भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० बाट मधुपर्कका पूर्वसम्पादक जयदेव भट्टराई सम्मानित हुनुभएको छ । प्रतिष्ठान नेपाल शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा भट्टराईसहित नौ जनालाई विविध विधामा सम्मान गरिएको हो ।

गोरखापत्र संस्थानको सेवाबाट हालै सेवा निवृत्त भट्टराई पत्रकारिता क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत यहाँ आयोजित कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले सम्मान गर्नुभएको थियो ।

यस्तै, कार्यक्रममा भीम विराग राष्ट्रिय साहित्य पुरस्कार २०८० बाट सुनसरीका साहित्यकार कुन्ता शर्मालाई, भीम विराग राष्ट्रिय कला पुरस्कार २०८० मकवानपुरका कलाकार बिएस रानालाई, भीम विराग राष्ट्रिय सङ्गीत पुरस्कार २०८० मकवानपुरकै सङ्गीतकार लाल श्रेष्ठलाई प्रदान गरिएको छ ।

हेटौँडा उपमहानगरपालिकाको सहयोगमा कला साधन भीम विरागको नाममा पहिलो पटक प्रदान गरिएको चार वटै राष्ट्रिय पुरस्कारको राशि २५ हजार रुपियाँ र प्रमाणपत्र रहेको छ ।

यसैगरी, २० हजार रुपियाँ राशिको रामकृष्ण बानियाँ स्मृति लोक सङ्गीत पुरस्कार २०८० लोक गायिका पम्फा थापा मगरलाई प्रदान गरिएको छ ।

शिला नारी पुरस्कार २०८० खेलाडी निरु मगरलाई, तुलसीमाया– शिवकुमारी सिर्जनशील नारी पुरस्कार २०८० गीतकार मञ्जु खराललाई, मङ्गलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार २०८० स्वास्थ्यकर्मी सीमा मिश्रलाई र अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार २०८० दृष्टिविहीन शिक्षिका अञ्जु धिताललाई प्रदान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठको अध्यक्षता तथा नगरप्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सम्मानितहरू कुन्ता शर्मा, लाल श्रेष्ठ, पम्फा थापा मगर, प्रतिष्ठानका पूर्व अध्यक्ष ह्यग्रीव आचार्य, उपाध्यक्ष श्यामकुमार बानियाँ, सचिव सुरेश श्रेष्ठ, मञ्जु खराल, आँचल साहित्य कला पुञ्जका अध्यक्ष भावना सापकोटा, विनोद बानियाँलगायतले बोल्नुभएको थियो । कार्यक्रममा स्रष्टाहरूबाट कविता र गीत प्रस्तुत गरिएको थियो । गाेरखापत्रबाट ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु