अमेरिकामा भूपाल राईको एकल कविता वाचन
अमेरिकाको बोस्टन सहरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति तथा कवि भूपाल राईको एकल कवितावाचन कार्यक्रम सम्पन्न भएको छ। कवि राईले ११५औं देवकोटा जयन्तीका अवसरमा आयोजना गरिएको कार्यक्रममा, आफ्नो एकल कविता सग्रंह ‘यारी’का कविताहरु वाचन गरेका थिए। उनको यो ‘एकल कवितावाचन कार्यक्रम ‘सांस्कृतिक सत्ता र समताका लागि नेपाल प्रज्ञा प्रतिष्ठान’ भन्ने अभिप्रायका साथ थालिएको अभियानको दोस्रो शृङ्खला हो। प्रतिष्ठानका कूलपति तथा कवि राईले यस अभियानको पहिलो शृंखला चितवनबाट सुरु गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले नेपालमा धेरै पटक राजनैतिक व्यवस्था तथा सत्ता परिवर्तन भएको भएतापनि १४ सालमा स्थापना भएको नेपाल प्रज्ञा प्रतिष्ठानको अवस्था जहाँको त्यही रहेको दुखेको पोखे। प्रतिष्ठानको वास्तविक मूल्य, मान्यता र महत्व नेपालीहरुलाई अझै थाहा नभएकाले त्यसलाई स्थापित गर्ने अभियानमा आफूहरु जुटिरहेको उनले बताए। देशको विकास हुन व्यवस्था र सत्ता मात्र परिवर्तन गरेर नहुने रहेछ, संस्कृतिकै परिवर्तन गरिनु पर्दो रहेछ भन्ने महसुस भएकाले नियोजित रुपमै ‘सबै भाषा-सबै ज्ञान, नेपाल प्रज्ञा प्रतिष्ठान’ भन्ने मूल नाराका साथ ‘सांस्कृतिक सत्ता र समताका लागि साहित्यिक अभियान’ सुरु गर्नु परेको उनले जिकिर गरे। संस्कृति भन्नाले सकारात्मक विचार तथा चिन्तन भएको बताउदै उनले नेपाल बनाउनका लागि विद्यमान विकृत भ्रष्ट संस्कृतिको परिवर्तन अपरिहार्य रहेको ठोकुवा गरे। कूलपति राईले प्रज्ञा प्रतिष्ठान हालसम्म केबल नेपालमा मात्र सिमित रहेकोप्रति असन्तुष्टि व्यक्त गर्दै विश्व भर छरिएर रहेका नेपालीहरुको पनि भएकाले सोही अनुसार प्रतिष्ठानले भूमिका निभाउनु पर्नेमा र सबै नेपालीले अपनत्व महसुस गर्नु पर्नेमा जोड दिए। उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा काव्य विभाग प्रमुख तथा कवि बाबा बस्नेत, अनेसास नेपाल च्याप्टरका पुर्व महासचिव तथा कवि ऋषभ देव घिमिरे र दिपा राईलेसमेत आफ्ना कविताहरु वाचन गरेका थिए। अनेसास, बोस्टन च्याप्टरका अध्यक्ष महेश्वर पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, अनेसासका केन्द्रीय अध्यक्ष गोवर्धन पूजाले नेपाली साहित्यको मर्म र साहित्यकारहरुको कर्मको महत्वका बारेमा प्रकाश पारेका थिए। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास), बोस्टन च्याप्टरले आयोजना गरेको उक्त साहित्यिक कार्यक्रममा बोस्टनलगायत छिमेकी राज्यहरु कनेक्टटिकट, न्युहेम्पसयर, न्यूयोर्कका कवि तथा साहित्यानुरागीहरुको उपस्थित रहेको थियो।