एन्फा अध्यक्ष नेम्वाङलाई हटाउने प्रस्ताव अस्वीकृत
हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा)को आज भएको विशेष साधारणसभाले अध्यक्ष पंकजबिक्रम नेम्वाङलाई बर्खास्त गर्ने सम्बन्धी प्रस्ताव अस्वीकृत भएको छ ।
हेटौंडामा आज बिहीबार भएको सभामा नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै परेको प्रस्तावमाथि भएको मतदानमा प्रस्तावको पक्षमा एक मत पनि परेन भने विपक्षमा ५२ मत परेको थियो ।
विशेष साधारणसभामा नेम्वाङलाई बर्खास्त गर्नुपर्छ भन्ने प्रस्ताव राख्ने असन्तुष्ट पक्षले मतदान नै गरेनन् ।
एन्फाको कुल १०७ सदस्यमध्ये ८७ जनासँग मताधिकार भए पनि ५३ जनाले मात्र मतदान प्रक्रियामा भाग लिएको हो । बिधान अनुसार अध्यक्षको बर्खास्तीको प्रस्ताव पारित हुन दुईतिहाइ मत आवश्यक पर्दछ ।
गत भदौमा असन्तुष्ट पक्षले एन्फा नेतृत्वले काम गर्न नसकेको भन्दै अध्यक्ष र महासचिवको बर्खास्तीको प्रस्ताव सहित एन्फामा पेश गरेका थिए ।