अमेरिकावासी नेपालीहरुद्वारा भूकम्पका कारण मृत्यु हुनेहरुप्रति हार्दिक श्रध्दाञ्जली व्यक्त

निरन्तर न्यूज
२० कार्तिक २०८०, सोमबार १७:०१

हालै नेपालको जाजरकोटमा गएको भूकम्पका कारण मृत्यु हुनेहरुप्रति अमेरिकामा रहेका नेपालीहरुले हार्दिक श्रध्दाञ्जली व्यक्त गरेका छन्। उक्त भूकम्पका कारण भएको जनधनको क्षतिप्रति गहिरो दु:ख प्रकट गर्दै अमेरिकाको न्यु इंग्ल्याण्डवासी नेपालीहरुले मृतकहरुप्रति हार्दिक श्रध्दाञ्जली व्यक्त गरेका हुन्। उनीहरुले नोभेम्बर ५ तारिख आइतवार साँझ बोस्टनस्थित पशुपतिनाथ बुद्द मन्दिरमा भेला भइ उक्त घटनाप्रति समानुभूति प्रकट गर्दै सामूहिक रुपमा शोक प्रकट गरेका थिए। शोक प्रकट गर्नेहरुमा न्यु इंग्ल्याण्ड क्षेत्रमा क्रियाशील नेपाली संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु तथा मन्दिरमा आएका भक्तजनहरु रहेका थिए। शोक प्रकट गर्ने क्रममा सहभागीहरुले मृत्युवरण गर्नेहरुको आत्माको चीर शान्तिको कामना गर्दै एक मिनट मौनधारणसमेत गरेका थिए। यसैक्रममा, उनीहरुले मन्दिरमा दीप प्रज्वलन गर्दै शोक सन्तप्त परिवारजनहरुप्रति हार्दिक समवेदना प्रकट गर्नुका साथै घाइतेहरुको सिघ्र स्वास्थ्यलाभका लागि प्रार्थनासमेत गरेका थिए। उनीहरले उक्त भूकम्पबाट प्रभावितहरुलाई तत्काल आवश्यकीय सहयोग जुटाउने अभियानमा सक्दो हातेमालो गर्न सहयोगी हातहरलाई अपिलसमेत गरेका छन्।

यो समाचार तयार पार्दासम्म, भूकम्पमा परी १ सय ५३ जनाभन्दा बढीको ज्यान गइसकेको छ। ३ सय ७५ भन्दाबढी घाइते भएका छन् भने हजारौँ भौतिक संरचनाहरुमा क्षति पुगेको छ। भूकम्प पिडितहरुलाई तत्काल आवश्यक राहत उपलब्ध गराउनका लागि नेपाल सरकार, राजनैतिक दलहरु, नेपाल तथा नेपाल बाहिर रहेका संघ संस्थाहरु, विभिन्न राष्ट्रहरु, सामाजिक अभियान्ताहरु, सहयोगी हातहरुसमेत भूकम्प गएको क्षेत्रमा जुटिरहेका छन्। यद्यपि, भौगोलिक विकटता, श्रोत साधनको कमी, कमजोर सरकारी संयन्त्र, कमजोर भौतिक संरचना आदिका कारण राहत तथा उदार कार्य भने यथोचित रुपमा प्रभावकारी हुन सकिरहेको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*