नेपालको संविधान संसारकै सबैभन्दा प्रगतिशील : परराष्ट्रमन्त्री साउद
नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउदले नेपालको संविधान संसारकै सबैभन्दा प्रगतिशील संविधानहरु मध्यको एक भएको जिकीर गरेका छन्। अमेरिका भ्रमणको क्रममा नोभेम्बर २ तारिख बिहिवार बोस्टन आइपुगेका परराष्ट्रमन्त्री साउदले, एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो जिकीर गरेका हुन्। गैर आवासीय नेपाली संघ, अमेरिकाको मासाच्युसेट्स च्याप्टरले जल्दाबल्दा मुद्दाहरु र समसामयिक बिषयहरुमा बिचार मन्थन गर्ने उद्देश्यले आयोजना गरेको ‘अन्तरक्रिया तथा साक्षात्कार कार्यक्रम’का प्रमुख अतिथि साउदले, नेपालको संविधान समावेशी र प्रगतिशील भएको दावी गरे। बर्तमान संविधानको बचाउ गर्दै उनले भने, ‘नेपालको संविधान समावेशी छ। समावेशी संविधान भएको हुनाले संसारकै सबैभन्दा प्रगतिशील संविधानहरु मध्यको हाम्रो पनि संविधान हो।’
मन्त्री साउदले आफ्नो भनाइलाई पुष्टि गर्न महिला जनप्रतिनिधिको उदाहरण दिदै हाल स्थानीय तहमा ४० प्रतिशतभन्दा बढी र प्रादेशिक तथा केन्द्रीय तहमा ३३ प्रतिशत भन्दा बढी महिलाहरुको प्रतिनिधित्व रहेको बताए। नेपालले छोटो अवधिमा पनि राष्ट्रपति, प्रधानन्यायधीश, सभामुख जस्ता राज्यका महत्वपूर्ण पदहरुमा महिलालाई स्थान दिइएको बताउदै उनले आदिवासी जनजातिहरु पनि खुलाप्रतिस्पर्धाबाट राजनितिको पछिल्लो चरणमा पुगेको बताए। केही राजनितिक घटनाक्रमलाई मात्रै केन्द्रमा राखेर हेर्दा केही कमी कम्जोरीहरु भएको हुन सक्ने स्विकार गर्दै मन्त्री साउदले त्यसलाई अन्यथा नलिन आग्रह गरे। , ‘एउटा हिउदले मात्रै जाडो जादैन। एउटा गौथली उड्दैमा वर्षात आउदैन।’ नेपालको संविधान, राजनितिक क्रियाकलापहरु र राजनितिक दलहरु सही बोटोमै रहेको विश्वास दिलाउदै उनले भने, ‘ हामी ठिक ट्र्याकमा छौं। समयले विस्तारै प्रगति गरेर लैजाने छ भन्ने कुरा म विश्वस्त छु।’ कार्यक्रममा सम्बोधन गर्ने क्रममा परराष्ट्रमन्त्री साउदले छिमेकी राष्ट्र भारततिर इंकित गर्दै नेपालीमा कसैप्रति पनि घृणित बिचार नभएको प्रस्ट पारे। उनले कसैको व्यक्तिगत बिचारलाई लिएर राष्ट्रिय परिप्रेक्ष्यमा वा समग्र सामाजिक परिप्रेक्ष्यमा नहेर्न सबैलाई आग्रह पनि गरे।
एनआरएनए, एनसिसिका पूर्व अध्यक्ष प्रल्हाद केसीको अध्यक्षता रहेको कार्यक्रमका प्रमुख अतिथि, अतिथि तथा सहभागीहरुलाई आयोजकको तर्फबाट स्वागत गर्दै संस्थाका पूर्व सल्लाहकार दीनबंधु भट्टले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए। कार्यक्रममा सम्बोधन गर्दै एनआरएनए, आइसिसि सदस्य छत्र कुमारी गुरुङ, अमेरिका स्थित राजदूतावासका डेपुटी चिफ अफ मिसन कुमारराज खरेल, नेपाली जनसम्पर्क समिति, अमेरिकाका केन्द्रीय अध्यक्ष आनन्द बिष्ट, प्रवासी नेपाली मञ्च, अमेरिकाका केन्द्रीय उपाध्यक्ष भिमप्रकाश ओलीलगायत कार्यक्रममा सहभागीता जनाउनेहरुले गैर आवासीय नेपालीहरुको अवस्था, संस्थाको अवस्था, नेपाल सरकारको निति तथा कानूनी व्यवस्था तथा भूमिकालगायत विषयमा केन्द्रीत रहेर आफ्ना बिचारहरु राख्दै प्रमुख अतिथि साउदको ध्यानाकर्षण गराएका थिए। संस्थाका मासाच्युसेट्स च्याप्टर अध्यक्ष प्रचण्ड श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा, वक्ता तथा सहभागीहरुले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ, नेपाल सरकारको प्रतिनिधित्व गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा परराष्ट्रमन्त्री साउदले दिने प्रयास गरेका थिए।
परराष्ट्रमन्त्री साउद गत कार्तिक १२ गते नै अमेरिकाको भ्रमणका लागि अमेरिका आएका थिए। उनले आफनो एक हप्ते भ्रमण तालिका अनुसार अमेरिकी समकक्षी एन्टोनी जे. ब्लिंकेन, संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) की प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसि) प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइटलगायत अन्य उच्चस्तरीय अधिकारीहरूसँग भेटवार्ता गरेको श्रोतले जनाएको छ।