भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना : १३ जनाको मृत्यु
काठमाडौं । भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना भएको छ । आन्ध्र प्रदेशको विजयनगरममा भएको रेल दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ५० भन्दा बढी घाइते भएका छन् ।
पूर्वी तटीय रेलवेका सीपीआरओ विश्वजित साहुले राहत र उद्धार कार्य भइरहेको बताएका छन् । दुरघटनास्थलमा हाल उद्धार कार्य जारी रहेको र अब ट्र्याकमा रेल सञ्चालन सुचारु गर्ने तयारी भइरहेको छ ।
दुर्घटनाका कारण अलपत्र परेका यात्रुका लागि बस र रेलको व्यवस्था गरिएको छ । दुर्घटनाका कारण अहिलेसम्म १८ वटा ट्रेन रद्द भएका छन् भने २२ वटा ट्रेनको रुट परिवर्तन गरिएको छ ।
वाल्टेयर डिभिजनका डिभिजनल रेलवे प्रबन्धक सौरभ प्रसादले हेवी मेसिन र क्रेन बोलाइएको बताए । दुर्घटनाको कारणबारे सोध्दा सौरभ प्रसादले अनुसन्धान पूरा भएपछि मात्र दुर्घटनाको कारणबारे केही भन्न सकिने बताए । रेल मन्त्रीले दुर्घटनामा परी ज्यान गुमाएकाका परिवारलाई १० लाख, गम्भीर घाइतेलाई २ लाख ५ हजार र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।