जलवायु परिवर्तनको असरसँग जुध्न सहयोग गर्छौं : महासचिव गुटेरेस
काठमाडौं । सगरमाथा क्षेत्रको अवलोकन सोलुखुम्बुको खुम्जुङ पुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रमा देखिएको असरसँग लड्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
हिमाली क्षेत्र जलवायु परिवर्तनको मारमा परेको भन्दै गुटेरेसले असर न्यूनिकरणका लागि सहयोग गर्न संयुक्त राष्ट्रसंघ तयार रहेको बताएका हुन्।
नेपाली सेनाको हेलिकोप्टरमार्फत खुम्बु पासाङ ल्हामु गाउँपालिका– ४ खुम्जुङ आएका गुटेरेसले स्थानीयसँगको अन्तरक्रियामा विकसित राष्ट्रहरुको नियति विकशील राष्ट्रहरुले भोग्नु परेको भन्दै दुःख व्यक्त गरे।
विश्वका ठूला तथा विकासित शक्ति राष्ट्रहरुका कारण वातावरण प्रदूषण भएपनि त्यसको प्रत्यक्ष मारमा भने नेपालजस्ता साना राष्ट्रहरु परेको उनको भनाइ छ ।
करिब २ घण्टा खुम्जुङमा स्थानीय, अगुवा, पर्यटन व्यवसायी तथा जनप्रतिनिधिसँग अन्तरक्रिया गरेका गुटेरेससँग खुम्बुका नागरिकहरुले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिउँ पग्लिदै गएको र हिमाल कालापत्थरमा परिणत भएकाले हिमाली बस्ती जोखिममा रहेको बताए ।