विश्वकप क्रिकेटमा पाकिस्तानले भारतलाई दियो १ सय ९२ रनको लक्ष्य

निरन्तर न्यूज
२७ आश्विन २०८०, शनिबार १८:५५

काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तानले भारतलाई १ सय ९२ रनको लक्ष्य दिएको छ । अहमदावादमा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले १ सय ९१ रन मात्रै बनाउन सक्यो । पाकिस्तान ४२ ओभर ५ बलमा अलआउट भयो ।

मध्य र तल्लोक्रममा नाटकीय रुपमा विकेट पतन भएपछि पाकिस्तानले घरेलु टोली भारतलाई १ सय ९२ रनको मध्यम लक्ष्य दियो । पाकिस्तानका कप्तान बाबर आजमले ५८ बलमा ७ चौकासहित सर्वाधिक ५० रन बनाए । मोहम्मद रिजवान ६९ बलमा ७ चौकासहित ४९ रन बनाएर आउट भए ।

तेस्रो विकेटका लागि मोहम्मद रिजवान र कप्तान बाबर आजमले १ सय ३ बलमा ८२ रनको महत्वपूर्ण साझेदारी गर्दै विशाल योगफल तर्फ टिमलाई अगाडि बढाएका थिए । तर ३० औं ओभरको चौथो बलमा बाबर आजम मोहम्मद सिराजको बलमा बोल्ड आउटभएपछि पाकिस्तानको नाटकीय विकेट पतन शुरु भयो । र, पाकिस्तानी ब्याटर तिमी जाउ पनि म आउँछु भने जस्तो गरी एक एक गरी पेवेलियन फर्किए । बाबर आउट हुँदा पाकिस्तानको स्कोर १५५–३ थियो र २९.४ ओभरको खेल भएको थियो । तर त्यसपछि जे भयो त्यो अकल्पनीय जस्तै भयो । अन्तिम ८ विकेट पाकिस्तानले मात्रै ३६ रनमा गुमायो ।

साउद शकिल ३३ औं ओभरको दोस्रो बल कुलदीप यादवबाट ६ रनमा एलबीडब्लू आउट भए । यसै ओभरको अन्तिम बलमा इफ्तिखार अहमद ४ रनमा बोल्ड आउटका रुपमा कुलदीपको शिकार भए । अर्को ओभरमा रिजवान ४९ रनमा बोल्ड आउट भएपछि पाकिस्तान संकटमा पुग्यो १५५–२ को अवस्थामा भएको पाकिस्तानले १३ रन जोड्न ४ विकेट गुमाएर संकटमा पर्यो । जसप्रित बुमराहले सादब खानलाई २ रनमा बोल्ड आउट गरे ।

मोहम्मद नवाज ४ र हसन अली १२ रनमा आउट भए । पाकिस्तानलाई ओपनर इमाम उल हक र अब्दूल्लाह शफिकले ८ ओभरमा ४१ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । श्रीलंकाविरुद्धका शतक बनाएका शफिक भारतविरुद्ध २४ बलमा ३ चौकासहित २० रनमा आउट भए । उनी सिराजको शिकार भए ।

इमाम उल हक ३८ बलमा ६ चौकाको मद्दतले ३६ रन बनाएर आउट भए । उनी हार्दिक पान्ड्याको बलमा आउट भए । त्यसपछि मोहम्मद रिजवान र बाबर आजमले पाकिस्तानलाई खेलमा फर्काएका थिए । तर आजम र रिजवान आउट भएपछि पाकिस्तान धराशायी भयो । भारतका शार्दूल ठाकुर बाहेक पाँच बलरले बाँडेर समान २ विकेट लिए ।

भारतका कुलदीप यादवले १० ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । रविन्द्र जडेजाले ९–५ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । हार्दिक पान्ड्याले ६ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । मोहम्मद शिराजले ८ ओभरमा ५० रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले ७ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । लक्ष्य पछ्याउँदै अहिले भारतले ब्याटिङ थालेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु