इजरायलबाट अन्य नेपालीलाई ल्याउन आवश्यकताअनुसार जहाज पठाउँछाैं : परराष्ट्रमन्त्री साउद
काठमाडौं। परराष्ट्रमन्त्री एनपी साउदले आवश्यकता अनुसार अरूलाई पनि देशमा फिर्ता ल्याउन सरकारले जहाज पठाउने बताएका छन्।
इजरायलबाट २ सय ५४ जना नेपाली विद्यार्थीको उद्धारपछि शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै परराष्ट्रमन्त्री साउदले अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए।अन्य नेपालीहरुलाई स्वदेश ल्याउन पनि आवश्यकताअनुसार इजरायल जहाज पठाउन सकिने मन्त्री साउदले सञ्चारकर्मीलाई बताए।
उनले मन्त्रिपरिषद्ले नै यसका लागि आवश्यक निर्णय गरिसकेको बताउँदै नियमित र चार्टर उडानमार्फत नेपालीहरुलाई स्वदेश ल्याइने प्रतिबद्धता जनाए। उनका अनुसार नेपाली दूतावासको अनलाइन प्रणालीमा ५५७ जनाले आफ्नो विवरण उपलब्ध गराएका छन् । जसमध्ये ५०३ जनाले नेपाल फर्किन अनुरोध गरेकामा २५४ जना स्वदेश फर्किएका हुन् ।