चितवनको गाँजीपुर महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्छ : मन्त्री ढुंगेल

चितवन । प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पर्यटकीय गन्तव्यको रुपमा चितवनलाई विकास गर्दै लैजानुपर्ने बताएका छन् ।
मदन भण्डारीको शव भेटिएको ठाउँ भरतपुर १७ गाँजीपुरमा आज आयोजित श्रद्धाञ्जलि तथा निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा मन्त्री ढुंगेलले मदन भण्डारीको शव भेटिएको चितवन ऐतिहासिक भूमि भएको भन्दै यसलाई पनि एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताए ।
मन्त्री ढुंगेलले धार्मिक तथा पर्यटकीय गन्तव्यसँगै ऐतिकासिक भूमि भएको चितवनलाई प्रदेश सरकारले ‘चितवनको गौरव, प्रदेश ३ को सौरभ’ अगाडी बढाइएको बताए ।
२०५० जेठ ३ गते चितवनको दासढुंगामा सवारी दुर्घटनामा रहस्मय मृत्यु भएका जननेता मदन भण्डारीको शव जेठ ५ गते भरतपुर १७ गाँजीपुरमा भेटिएको थियो । त्यसै दिनको स्मरण गर्दै आयोजना गरिएको कार्यक्रममा नेताहरुले दासढुंगादेखि गाँजीपुरसम्मको विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारले विशेष योजना ल्याउनुपर्ने धारण राखेका छन् ।
२६औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी फाउन्डेशन चितवन, मदन भण्डारी स्मृति पार्क समिति गाँजीपुर तथा चितवन मोडल हस्पिटल भरतपुरको संयुक्त आयोजनामा श्रद्धाञ्जलि सभा तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
कायक्रम मदन भण्डारी स्मृति पार्क समिति गाँजीपुरका अध्यक्ष गौरेश तामाङको अध्यक्षतामा भएको होे ।