अमेरिकाको बोस्टनमा ‘वार्षिक सांगीतिक कार्यक्रम’ सम्पन्न

सुपेन्द्र बस्नेत
२४ आश्विन २०८०, बुधबार १९:४८

अमेरिकाको बोस्टन सहरमा नेपाली मूलका कलाकार बालबालिकाहरुको वार्षिक सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गत अक्टोबर ७ तारिख सनिवारका दिन सम्पन्न भएको हो। उक्त कार्यक्रममा नेपालको राष्ट्रिय गान ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली …’मा संगीत दिने वरिष्ठ संगीतकार अम्बर गुरुङका छोरा शरद गुरुङबाट संगीत प्रशिक्षण लिएका बालबालिकाहरुको सहभागिता रहेको थियो। सहभागी कलाकार बालबालिकाहरुले आफूले सिकेको र आफूमा रहेको सांगीतिक प्रतिभाहरु पस्किएका थिए। शरद गुरुङ लामो समयदेखि व्यवस्थित संगीतको अध्ययन गर्ने र अरुलाई पनि सोही अनुरुप संगीत सिकाउने अभियानमा जुटिरहेका छन्। आफूले जानेको व्यवस्थित संगीतको सीप तथा कला, आउने पुस्ताहरुलाई हस्तान्तर गर्नु आफ्नो सांगीतिक अभियानको मुख्य उद्देश्य रहेको गुरुङले बताएका छन्।

नेपाली राष्ट्रिय गान ‘सयौं फूलका थुंगा हामी…’ बाट सुभारम्भ गरिएको कार्यक्रममा, बालबालिकाहरुले बहुचर्चित नेपाली राष्ट्रिय गीतहरु -यो नेपाली शिर उचाली…, रातो र चन्द्र सुर्य…समेत बजाएका थिए। कार्यक्रमको दौरानमा, कलाकार बालबालिकाहरुले नेवारी गीत, नेपाली आधुनिक तथा लोक गीत, हिन्दी गीत, अंग्रेजी गीतहरु पनि प्रस्तुत गरेका थिए। नेपालीपन तथा नेपाली पहिचान बोकेका गीत संगीतले प्राथमिकता पाएको उक्त वार्षिक सांगीतिक कार्यक्रम, सांगीतिक दृष्टिकोणले मात्र नभइ बहुआयामी दृष्टिकोणले निकै मनोरञ्जनात्मक, महत्वपूर्ण र उपलब्धिमूलक रहेको कार्यक्रममा सहभागी अभिभावकहरुको ठम्याइ थियो। उक्त कार्यक्रममा आफ्नो प्रतिभा प्रस्फूटन गर्ने कलाकार बालबालिकाहरुमा सैव्य रिजाल, काव्य पौडेल, शृया पौडेल, प्रयुश पौडेल, प्रिशा पौडेल, समिक नेपाल, आयान नेपाल, आभानी काप्री, निमित भट्ट, सरिशा तिमिल्सिना, नीर सिंह, सम्भिद बराल, आरुशी बराल, शृया खनाल, आभानी गुरुङ र सक्रिय बस्नेत रहेका थिए। यसैक्रममा, उक्त अमूल्य अवसरको सदुपयोग गर्दै अभिभावक शुशिला बस्नेत तिमिल्सिना, कलाकार सुरेश प्रधान र बिराज गुरुङले पनि गीतहरु गाएर सांगीतिक माहोललाई थप रौनक बनाएका थिए। कार्यक्रमको अन्तमा नजिकिदै गरेको नेपालीहरुको महान चाड बडा दशैं र तिहारको स्मरण गर्दै मालाश्री धुन बजाएर कार्यक्रमलाई बिट मारिएको थियो। मंगल धुनसंगै सहभागीहरुले आपसमा शुभकामना आदानप्रदान समेत गरेका थिए। सोही अवसरमा सांगीतिक क्षेत्र र बालबालिकाको चौतर्फी विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै अभिभावकहरुले संगीत प्रशिक्षक शरद गुरुङप्रति सम्मान व्यक्त गरेका थिए।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै संगीत प्रशिक्षक शरद गुरुङले आरोरात्र खट्ने कलाकार बालबालिकाहरु, अभिभावकहरु र प्रत्यक्ष परोक्ष रुपमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। गीत संगीत भनेको केबल मनोरञ्जन मात्र नभएर मानिसको शारीरिक तथा मानसिक विकासका लागि महत्वपूर्ण माध्यम पनि भएको उनले जिकीर गरे। आफू मूलत: व्यवस्थित संगीत सिक्ने र सिकाउने अभियानमा जुटिरहेको बताउदै गुरूङले भने, ‘संगीत भनेको योग, ध्यान, ज्ञान, सीप, परिश्रम, लगनशीलता, एकाग्रता, धर्यतालगायतको समुचित योग हो। यो सोचे जस्तो सरल, सहज र सस्तो पनि छैन। र, प्राप्त गर्न असम्भव पनि होइन। यसको असली स्वाद, आनन्द र फाइदा लिने हो भने गहिराइमा डुब्नै पर्दछ। यही कुरालाई मनन गरेर म व्यवस्थित संगीतको अभियानमा जुटिरहेको छु।’

लामो समयदेखि परिवारसहित अमेरिकाको बोस्टनमा बस्दै आएका शरदले, विश्व सांगीतिक क्षेत्रको गहन अध्यनन गरी यसै क्षेत्रमा अमूल्य योगदान पुर्याउदै आइरहेका छन्। हाल उनीसंग २५ जनाले नियमित संगीत प्रशिक्षण लिइरहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*