नेपालमा एनआरएनए अस्पताल स्थापनाको कार्य शुरूवात गर्नेछु : उपाध्यक्ष पदका आकाङ्क्षी शेरचन

सुपेन्द्र बस्नेत
२२ आश्विन २०८०, सोमबार १०:४१

गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समिति (एनआरएनए, आइसिसि-NRNA, ICC)को आसन्न निर्वाचनमा उपाध्यक्ष पदका आकाङ्क्षी रोबिन शेरचनले, परदेशमा काम गर्ने श्रमिकहरुलाई लक्षित गरेर नेपालमा सुविधा सम्पन्न एनआरएनए अस्पताल खोल्ने काम सुरु गर्ने बताए। संस्थाको आगामी दुइ वर्षीय कार्यकाल(२०२३-२५)का लागि उपाध्यक्ष पदमा उमेदवारी घोषणा गरे लगतै प्रचारप्रसारका लागि मध्यपूर्वी देशहरु दुबई, कतार, ओमानलगायतको भ्रमणमा निस्किएका शेरचनले युएई पुगेर यस्तो बताएका हुन्। युएईमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘परदेशमा काम गर्ने श्रमिकहरुलाई लक्षित गरेर नेपालमा एउटा सुविधा सम्पन्न NRNA अस्पताल खोल्नु पर्छ। परदेशमा बस्ने नेपालीले सहुलियत एवं भरपर्दो स्वास्थ्य सेवा पाउनु पर्छ भन्ने हामी चाहन्छौं । त्यसैले, मैले यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु कि, राज्यले हाम्रा लागि केही गरेन भनेर निरास नहुनुहोस् अब यो अस्पताल बनाउने कामको सुरुवात मैले गर्नेछु।’ आफ्नो उमेदवारीको औचित्य पुष्टि गर्ने प्रयास गर्दै उनले भने, ‘मैले धेरै गफ गर्न जानेको छैन्। कुरा थोरै काम धेरै गर्ने कुरामा विश्वास गर्दछु। त्यसैले म काम गर्नका लागि एनआरएनमा आएको हुँ।’

सम्बोधनका क्रममा हाल एनआरएनए, आइसिसिको बोर्ड सदस्यसमेत रहेका शेरचनले, मध्यपूर्वमा ठूलो संख्यामा रहेका नेपालीहरुको विविध समस्याहरु समाधानका लागि थप जिम्मेवारी बहन गरी प्राथमिकताका साथ काम गर्न आफूले चाहेको र त्यसका लागि उपाध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेको प्रस्ट पारे। लामो समय जापानमा रहेर सफल व्यवसायी तथा समाजसेवीको छवि बनाउन सफल उनले, आफू सधै मध्यपूर्व क्षेत्रमा रहेका एनआरएनएहरुसंगै रहेको बताउदै भने, ‘तपाईहरुको समस्याहरुको पहिचान र त्यसको समाधानको बाटो पहिल्याउन एवं तपाईहरुको समस्या समाधानमा तपाईहरुसंगै भएको जानकारी गराउन यहाँ आएको हुँ।’ वैदेशिक रोजगारीले नेपालमा रहेका परिवारको घरखर्च मात्र नभइ, नेपालकै अर्थतन्त्र धानेको जिकीर गर्दै शेरचनले त्यसको सट्टा बैदेशिक रोजगारीमा गएका र तिनको परिवारको भलोका लागि नेपाल सरकारले हालसम्म खास ठोस काम नगरेको भन्दै दु:खेसो पोखे। उनले भने, ‘अगुल्टो पनि नझोँसी आगो बल्दैन, त्यसैले अब हामी जागरुक हुने बेला आएको छ। तपाईहरुको आवाज हामी बोल्नेछौ। र, केही कामको सुरूवात गर्न चाहन्छौं।’ सम्बोधनका क्रममा उनले परदेशमा रहेर आपतविपतमा परेका श्रमकिहरुको सहयोगका निम्ति एउटा ठूलो अक्षयकोष स्थापना गरेर सहयोग पुर्‍याउने प्रतिबद्धतासमेत जाहेर गरे। भेटघाट क्रममा उनले आसन्न निर्वाचनमा आफूलाई विजयी गराइ जिम्मेवारी सुम्पेर काम गर्ने अवसर दिन मतदाताहरुलाई अनुरोध समेत गरे।

शेरचन यतिबेला ‘अपनत्व, विकास र सुदृढ पद्धतिका लागि, रूपान्तरित एनआरएनए’ भन्ने मूल नारा लिएर चुनावी मैदानमा होमिइरहेका छन्। उनले, प्राथमिक रुपमा पाँच वटा विषयलाई आफ्नो भावी योजना तथा चुनावी मुद्दाका रुपमा अघि सारेका छन्। उनले अघिसारेका ति प्राथमिक चुनावी मुद्दाहरूमा : संस्थागत गरिमा उच्च राख्दै संस्थागत वर्तमान पद्धतिमा रूपान्तरण गरी प्रभावकारी कार्ययोजना बनाउने, नेपाल भित्रिने रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न वातावरण तयार गर्ने, लगानीको सुरक्षा गर्दै सबै खाले आय भएका एनआरएनएहरुलाई समेटेर लगानीमा अभिवृद्धि गर्ने, सामूहिक अक्षय कोषको स्थापना गरी समस्यामा परेका एनआरएनएहरुलाई राहत प्रदान गर्ने र विविध कारणले एनआरएनएमा आवद्ध नभएका सक्षम जनशक्तिहरुलाई संस्थामा आबद्ध गराएर नेपालको अर्थतन्त्र र विकासलाई सहयोग पुर्याउने रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*