इजरायल आक्रमणमा १० जना नेपालीको ज्यान गएको पुष्टि (विवरणसहित)
![](https://www.nirantarnews.com/wp-content/uploads/2023/10/israel-1.jpg)
काठमाडौं । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको छ । इजरायलका लागि नेपाली राजदुत कान्ता रिजालले १० नेपालीको मृत्यु भएको पुष्टि गरेकी हुन् ।
घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको हमासको आक्रमणमा ज्यान गएको छ ।
आक्रमणमा परि सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी, गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेल घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
राजदूत रिजालका अनुसार मृतक १० जनाको शव नेपाल पठाउने व्यवस्था मिलाइएको छ । बाँकी घाइते र बंकरमा रहेकाहरुलाई पनि चाँडोभन्दा चाँडो उद्दार गर्ने प्रयास भैरहेको दूताबासले जनाएको छ ।