उप–महानगरकाे डुप्लिकेट फेसबुक पेजबाट नकारात्मक पाेष्ट

निरन्तर न्यूज
४ जेष्ठ २०७६, शनिबार १८:०४

हेटौँडा । बलियो स्थानीय सरकार भनेर चिनिने हेटौँडा उप–महानगरपालिकाको फेसबुक पेजबाट शनिवार दिउँसो एक्कासी संस्थाको मानमर्दन हुनेगरि स्टाटस पोष्ट भएपछि जनमानसमा सकारात्मक तथा नकारात्मक दृष्टिकोण पैदा भएको छ ।

यस स्टाटसमा केही व्यक्तिहरूले उक्त फेसबुक पेज हेटौंडा उप–महानगरपालिकाको नभइ फेक आइडी भएको बताएका छन् ।

हेटौँडा उप–महानगरपालिका लेखिएको फेसबुक पेजमा न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्ताेता रवि लामिछानेको व्यक्तिगत जीवनको विषयलाई जोडिएर लेखिएपछि जनमानसमा चिन्ता बढेको हो । उक्त फेसबुक पेजको स्टाटसमा यस्तो लेखिएको छ ‘पहीले लिभिङ टुकेदर, दोश्रो कोर्ट म्यारिज, तेश्रो कोठा म्यारिज अनि आज बिहे ––– जे गरेनी हुने ? रबी लामीछाने र यीनका फ्यानहरु ?’

उक्त पेजमा हेटौडाका सञ्चारकर्मीहरुले यस्तो कार्य गलत भएको टिप्पणी गरेका छन् । सञ्चारकर्मीहरु शिव कुमार काशी, आशिष दुलाल, धिरज ढकाल, गंगा प्रसाद पौडेल, धु्रब ढकाल लगायतले सरकारी आइडी बाट यस्तो कुरा नलेख्न आग्रह गरिएको कमेन्ट लेखेका छन् भने पत्रकार गणेश दर्पण अधिकारीले उक्त पेजको फोटो राखेर व्यङ्ग नै गरेका छन् ।

हेटौँडा उपमहानगरपालिका कार्यालयका सूचना अधिकृत भानुभक्त थपलियाले उक्त पेज हेटौँडा उपमहानगरपालिकाको नभएको र उस्तै पेज बनाएर गलत कुरा लेख्ने विरुद्ध कारवाहीको माग सहित प्रहरीमा जाने बताए । उक्त फेक आइडी बनाउने विरुद्ध साइबर क्राइम लगाउने बारे प्रहरीसँग छलफल गरिने समेत थपलियाले बताए ।

अहिले उक्त आइडीमा यस अगाडि लेखिएको स्टाटस हटाइएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु