श्रीलंकालाई हराउँदै एसिया कप क्रिकेटको उपाधि भारतलाई

काठमाडौं। एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ।
श्रीलंकालाई १० विकेटको फराकिलो अन्तरले हराउँदै भारतले उपाधि उचालेको हो। यो भारतको आठौं एसिया कप उपाधि हो।
श्रीलंकाको कोलम्बोमा आइतबार ५१ रनको झिनो लक्ष्य भारतले ६ ओभर १ बलमा पूरा गर्यो। भारतको लागि ओपनरद्धय शुभम गिलले २७ र इशान किशनले २३ रन बनाए।
पहिले ब्याटिङ गरेको श्रीलंका भारतसँग निरीह बन्यो र १५.२ ओभरमै अलआउट भयो । श्रीलंकाका कुसल मेन्डिसले सर्वाधिक १७ रन बनाए । दुशन हेमन्था १३ रनमा अविजित रहे । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
सिराजले ६ विकेट लिए । सात ओभर बलिङ गरेका उनले २१ रन मात्रै दिएका थिए । सिराजले तेस्रो ओभरमा लगालग ४ विकेट लिएका थिए । हार्दिक पान्ड्याले ३ र जस्प्रित बुमराहले १ विकेट लिए। यो श्रीलंकाको अहिलेसम्मकै कम स्कोर हो।
भारतका गिल ३०२ रनसहित एसिया कपमा सबैभन्दा बढि रन बनाउने खेलाडी बने । श्रीलंकाका मथिशा पथिराना ११ विकेटसँगै प्रमुख विकेटकिपर घोषित भए।
यसपटकको एसिया कप पाकिस्तान र श्रीलंकामा आयोजना गरिएको थियो। जसमा नेपालले पनि सहभागिता जनाएको थियो । समूह ‘ए’ मा भएको नेपालले पाकिस्तानसँग २ सय ३८ रन र भारतसँग १० विकेटले पराजय हुँदा समूह चरणबाटै बाहिरिएको थियो ।
एसिया कपका विभिन्न विधाका पुरस्कारराशीः
‘क्याच अफ द म्याच’ रविन्द्र जडेजा घोषित भए। उनले ३००० अमेरिकी डलर प्राप्त गरे।
‘प्लेयर अफ द म्याच’ मोहम्मद सिराज घोषित भए। उनले ५००० डलर प्राप्त गरे। सो रकम उनले ग्राउन्ड स्टाफलाई दिने निर्णय गरे।
प्रतियोगितामा ९ विकेट लिएका कुलदीप यादव ‘प्लेयर अफ द सिरिज’ घोषित भए। यादवले १५००० डलर प्राप्त गरे।
५० हजार डलर श्रीलंका ग्राउन्ड स्टाफलाई पनि प्रदान गरियो।
उपविजेता श्रीलंकाले ७५ हजार डलर प्राप्त गरे।
उपाधि विजेता भारतले भने १५० हजार डलर प्राप्त गरे।