सहकर्मी कुटपिटको विरोधमा हेटौंडाका डाक्टरहरुद्वारा बागमती प्रदेशसभा भवन अगाडि प्रदर्शन

हेटौंडा । डाक्टरलाई कुटपिट गरेपछी मकवानपुरका स्वास्थ्यकर्मीहरु निरन्तर रुपमा आन्दोलनमा होमिएका छन् । डाक्टरलाई हातपात गर्नेलाई कडा कार्बाहीको माग गर्दै यहाँका स्वास्थ्यकर्मीहरु आकस्मिक बाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।
हेटौंडाको सन्चो अस्पतालमा कार्यरत दुइ जना डाक्टरलाई कुटपिटको बिरोधमा निरन्तर रुपमा मकवानपुरका स्वास्थ्यकर्मीहरुले आन्दोलन जारी राखेका छन् । मकवानपुरका डाक्टर, नर्ष लगायतका स्वास्थ्यकर्मीहरुले बागमती प्रदेशसभा भवन अगाडि उपस्थित भएका स्वास्थ्यकर्मीले प्लेकार्डसहित सुरक्षाको माग गरेका छन् । उनीहरुले चिकित्सक कुटपिटमा संलग्न सबैलाई पक्राउ गर्नुपर्ने भन्दै आन्दोलन गरिरहेका छन् ।
स्वास्थ्यकर्मीको आन्दोलनका कारण अहिले यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । भित्र प्रदेशसभा बैठक चलिरहेको छ ।
बुधबार बिहान हेटौंडा–१, भिन्तुनापथस्थित सञ्चो अस्पतालमा चिकित्सकमाथि सांघातिकरुपमा आक्रमण भएको थियो । गत साउन २५ मा डेंगीबाट चितवनमा मृत्य भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै एनेस्थेसिया डाक्टर प्रशान्त बिडारी र डाक्टर विकास थापालाई कुटपिट गरेका थिए ।
घटनामा संलग्न भएको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ भने नेपाल चिकित्सक संघले दुई जनाविरुद्ध किटानी जाहेरी दिएको छ ।
घटनामा संलग्न एक हुल मध्य चार जनालाई प्रहरीले पक्राउ गरेर तीन दिनको म्याद थप गरेको छ । पक्राउ पर्नेमा गत साउन २५ गते डेंगु संक्रमणका कारण ज्यान गुमाएका राजेश प्रधानकी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिज अनुप प्रधान रहेका छन् ।
घटनमा संलग्न अन्यलाई पनि पक्राउ गरिनुपर्ने माग गर्दै उनीहरु धर्नामा बसेका छन् । हेटौँडा अस्पतालका बरिष्ठ बालरोग विशेषज्ञ हरीबहादुर खड्काले प्रदेशसभाका माननियहरुको ध्यानाकर्षण गर्न सचिवालय अगाडी धर्नामा बसेको बताउनुभयो ।