‘नाङ्गो गाउँ’को दोस्रो रोमान्टिक गीत सार्वजनिक

निरन्तर न्यूज
२० भाद्र २०८०, बुधबार ११:१२

काठमाण्डाैँ । दीपेन्द्र लामाद्वारा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’को दोस्रो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘सुन सुन सुन्दरी’ बोलको गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर छ भने सुष्मा सिग्देलको शब्द रचना तथा सुशान्त गौतमको संगीत छ । रामजी लामिछानेको नृत्य निर्देशन रहेको गीतमा फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरलाई रोमान्टिक मुद्रामा प्रस्तुत गरिएको छ ।

आलोक शुक्लाको छायांकन रहेको गीतमा चित्लाङ क्षेत्रको दृश्य आकर्षक छन् । प्रप्सदेखि कलाकारहरुको पहिरनसम्ममा विशेष ध्यान दिइएको गीतमा दयाहाङ र मिरुनाको केमेस्ट्री सुहाएको छ । ‘नाङ्गो गाउँ’ उनीहरुको तेस्रो सहकार्य हो । फिल्ममा उनीहरु श्रीमान्-श्रीमतीको भूमिकामा रहेका छन् । यो जोडीले यसअघि दुई सुपरहिट फिल्म ‘कबड्डी ४’ र ‘जारी’मा काम गरिसकेका छन् ।

शिशिर वाङ्देल, साम्राज्ञी आरएल शाह, कार्म, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङको पनि अभिनय रहेको फिल्ममा एसडी योगी र दीपक शर्माको संगीत, बनिष शाहको सम्पादन छ । दीपेन्द्र लामा स्वयंको कथा, पटकथा र संवाद लेखन रहेको फिल्मका निर्माता जय श्रेष्ठ, प्रस्तुतकर्ता हिमाल शर्मा र कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् ।

यही भदौ २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मले राजनीति विषयलाई मियो बनाएको छ । दुई हप्ताअघि सार्वजनिक ट्रेलरले फिल्म शिक्षण पेशा छाडेर राजनीतिमा उत्रिएका दयाहाङ र राजनीतिलाई व्यवसाय बनाउँदै आइरहेका शिशिरबीचको राजनीतिक लडाईंमा आधारित रहेको बुझाउँछ । निर्देशक लामा फिल्मले नेता र जनता दुवैमा इमान्दारिता चाहिन्छ भनेर प्रश्न गर्ने बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*